साउदीमा ११० अवैध नेपालीलाई एक्जिट भिसा

साउदीमा अवैध रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार हुरुब तथा फाइनल एक्जिट लागेका ११० जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्। गत आर्थिक बर्षमा २ हजार भन्दाबढी अवैध रुपमा बसेका नेपालीले एक्जिट भिसा पाएर स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ।
आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ ।
एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ ।
त्यस्तै, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिने सचिव गिरीले बताए । त्यस्तै, हुरूब लागेका व्यक्तिले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिँदैन । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले जनाएको छ। कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ ।
दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।
जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि दूतावासमा आउनुभन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।