सहारा साकोसका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिला पक्राउ

सहारा साकोसका कर्मचारीलाई जुत्ताको माला लगाई अभद्र व्यवहार गरी फरार भएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिनाभन्दा बढी समयदेखि बेपत्ता भएका उनीहरू गएराति पक्राउ परेका हुन् । मोरङ मिक्लाजुङ–२ बस्ने दुर्गामाया लिम्बू र माया मगरलाई प्रहरीले पक्राउ गरेको हो । अभद्र व्यवहारको कसुरमा आज अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइएपनि उनीहरू फेला परेका थिएनन् । गत असार २९ गते दिउँसो करिब १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशीला लामिछानेलाई दुर्गामाया र मायाले दुर्व्यवहार गरेका थिए । कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाहरूले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए । साथै सेवा केन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाई सामाजिक सञ्जालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए ।