२०८२ मंसीर १२ गते , शुक्रबार

चोरी गरी बेचिएका ४०९ मूर्ति विदेश पुगे, १९८ मात्रै फिर्ता

sajilo news
पत्रपत्रिका
२०८२ श्रावण २५ गते , आईतबार
चोरी गरी बेचिएका ४०९ मूर्ति विदेश पुगे, १९८ मात्रै फिर्ता

नेपालबाट चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन्। नेपालबाट ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन्। 

पुरातत्त्व विभागका शाखा अधिकृत सरिता सुवेदीले विसं. २०४२ देखि गत २०८१ सालसम्म नौ देशबाट १९८ मूर्ति मात्रै फिर्ता भएको जानकारी दिइन्। फिर्ता भएका प्रायः मूर्ति ऐतिहासिक र प्राचीन खालका १०० वर्षभन्दा पुराना भएको उनले बताइन्। 

‘हामीलाई प्रमाणसहित हराएका मूर्तिको उजुरी ४०९ वटा प्राप्त भएको छ। यो विभागलाई जानकारी गराएको मात्रै तथ्याङ्क हो’, उनले भनिन्, ‘जिल्ला प्रहरी कार्यालयमा मूर्ति हराएको उजुरी, कतै उजुरी नगरेर बसेकाको सङ्ख्या पनि धेरै हुन सक्छ । मूर्ति हराएको यकिन तथ्याङ्क ल्याउन सकिएको छैन।’  १९१ वटा मूर्ति कहाँ कुन अवस्थामा छ भन्ने पत्ता लगाउन नसकिएको विभागले जनाएको छ ।

२० मूर्ति फिर्ता भएन

पुरातत्व विभागले २० वटा मूर्ति तीन देशमा भएको कागजसहित पुष्टि गरे पनि ल्याउन नसकिएको अधिकृत सुवेदीले जानकारी दिइन्। फ्रान्समा १८ वटा मूर्ति, स्विट्जरल्याण्ड र सिङ्गापुरमा एक/एक वटा मूर्ति रहेका छन् । ‘फेला परेका मूर्ति नेपालबाटै गएका हुन् भन्ने प्रमाणबाट पुष्टि भइसकेको छ । स्वदेश फिर्ता ल्याउन सम्बन्धित देशको कानुन बाधक बन्दा ल्याउन सकिएको छैन। ती प्रायः मूर्ति देवीदेवता, बुद्धका काठ, पत्थर, ढलोट, फलामद्वारा निर्माण गरिएका भएको बताइएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार