भद्रपुरमा मेची टुरिजम एण्ड हस्पीटालिटी सञ्चालनमा
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा मेची टुरिजम एन्ड हस्पीटालिटी (कलेज फर होटेल म्यानेजमेन्ट) सञ्चालनमा आएको छ । दक्षिणी भेगका विद्यार्थीहरू सीप मूलक प्रशिक्षण तथा अन्य विषयवस्तु अध्ययन गर्न बिर्तामोडतर्फ धाउनु पर्ने बाध्यतालाई लक्षित गरी भद्रपुर–१० स्थित चन्द्रगढीमा मेची टुरिजम एन्ड हस्पीटालिटी सञ्चालन ल्याएको हो ।
भद्रपुर २ का युवा व्यवसायी नवीन अधिकारीले सञ्चालनमा ल्याएको मेची टुरिजम एन्ड हस्पीटालिटीको आज एक कार्यक्रमका बीच भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन ।
साथै होटेल सम्बन्धी प्रशिक्षण लिएका ३० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । जसमा कफी बनाउने १६ जना, पेस्टेह बेकरी दुई जना, वेटर वेट्रेस एक जना र बाँकीलाई कुक प्रशिक्षण दिइएको थियो । अहिले युवावर्गहरु विदेश पलायन भइरहेकोले आफ्नै क्षेत्रमा लगानी गरेर केही गरौँ भनेर यो व्यवसाय सञ्चालन ल्याएको मेची टुरिजम एन्ड हस्पीटालिटीका प्रबन्ध निर्देशक नवीन अधिकारीले जानकारी दिए ।
मैले होटेल म्यानेजमेन्टसँगै टुरिजम एन्ड हस्पीटालिटीमा मास्टर डिग्री गरेको जानकारी दिँदै प्रबन्ध निर्देशक अधिकारीले भने, ‘आफ्नै क्षेत्रमा केही गर्नु सक्छौ, बिर्तामोड नभई यहाँ पनि गुणस्तरीय शिक्षा र प्रशिक्षण दिन सक्छौँ भनेर अघि बढेका छौँ ।’ अहिले वैदेशिक रोजगारमा जानेहरू सीप नसिकी गइरहेका छन् । कम्तीमा सीप सिकेर गएमा होटेलमा पनि काम गर्न सकिन्छ र त्यो प्रशिक्षण पनि यहाँ गराइने उनको भनाई छ । अब छिट्टै डिप्लोमा इन होटेल म्यानेजमेन्ट कक्षा सञ्चालनको तयारी रहेको उनले जनाए ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, २ नम्बर वडाध्यक्ष राम कँडेल, ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन राजु बरालले गरेका थिए ।