पोस्टमार्टमकै बेला मृतकको सुन गायब पारिएपछि...
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित शिवराज आधारभूत अस्पताल फेरि विवादको घेरामा परेको छ ।अस्पतालमा पोस्टमार्टमका क्रममा एक मृतक महिलाको कानको सुनको मुन्द्रा हराएको र घटनापछि अस्पतालकै एक कर्मचारीले २ लाख रूपैयाँ बुझाएर सो घटना मिलाउन खोजेको रहस्य खुलेपछि यस विषयले गम्भीर मोड लिएको छ ।
गत ४ असार बिहान ७:५५ बजे शिवराज नगरपालिका–६ मा रहेको भूगर्भ सिमेन्ट उद्योग जाने बाटोमा बाग्मती प्रदेश ०२०३१च ५७७६ नम्बरको बोलेरो जिपले साइकलमा गइरहेकी महिलालाई ठक्कर दिएको थियो ।
घाइते अवस्थामा रहेकी महिलालाई तत्कालै स्थानीयले चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पु¥याए । अवस्था गम्भीर भएपछि उनलाई शिवराज आधारभूत अस्पतालमा सारियो । शिवराज अस्पतालका डा. अमित पाण्डेले दिउँसो १२ बजे ती महिलालाई मृत घोषित गरे । केही समयपछि मृतकको परिचय ५५ वर्षीया डम्बरकुमारी बलामीका रूपमा खुल्यो । उनी बागलुङको बाडिगाड गाउँपालिका–५ ग्वालीचौरकी हुन्, तर हाल शिवराज–३ मदवामा बस्दै भूगर्भ सिमेन्ट उद्योगमा कार्यरत थिइन् ।
मृतकको शव दिउँसो १ बजे अस्पतालको शवगृहमा राखिएको थियो । प्रहरीको उपस्थितिमा तयार गरिएको मुचुल्कामा मृतकको कानमा सुनको मुन्द्रा रहेको स्पष्ट उल्लेख गरिएको छ । साथै, सो मुन्द्राको फोटोसमेत लिइएको थियो । तर, अपराह्न ४ बजे जब शव परिवारलाई बुझाइयो, कानको गहना गायब थियो ।
मृतककी बहिनी हिमाकुमारी बलामी जब शव बुझ्न आइन्, उनले गहना हराएको कुरा तुरुन्तै अस्पताल प्रशासनसँग उठाइन् । तर, अस्पताल प्रशासन मौन रह्यो । पोस्टमार्टममा संलग्न डा. पाण्डे र कार्यालय सहयोगी सिराज अहमद दर्जी दुवैजनाले गहना आफूहरूसँग नभएको बताए ।
यो घटना केही समय सार्वजनिक भएन । तर, १ साउनमा कार्यालय सहयोगी दर्जीले हिमा बलामीलाई भेटेर घटना मिलाउन २ लाख रूपैयाँ दिन प्रस्ताव राखे । हिमाले गहना हराएको क्षतिपूर्तिस्वरूप १ लाख ४३ हजार रूपैयाँबराबरको खर्च विवरण दिइन् ।
अन्ततः दुवै पक्षबीच २ लाख रूपैयाँ बुझाउने सहमति भयो । ५ साउनमा सिराजले नगद २ लाख रूपैयाँ बुझाएर पुरानो चेक फिर्ता लिए, जसले घटनालाई झन् रहस्यमय बनायो ।
अस्पताल प्रशासन र नगरपालिकाले यो विषय लामो समय गुपचुप नै राखे । नगरप्रमुख अजय थापा पनि घटनापछि झन्डै एक महिना मौन रहे । तर, सामाजिक सञ्जालमा घटना बाहिरिएपछि उनले ‘गलत कार्यमा संलग्न जो कोहीलाई कारबाही गरिन्छ’ भन्ने सार्वजनिक भनाइ दिएका छन् । हालसम्म घटनामा संलग्न कर्मचारीलाई जागिरबाट हटाएको बताइएको छ । तर, आधिकारिक रूपमा कसलाई कारबाही गरियो भन्ने कुरा नगरपालिकाले सार्वजनिक गरेको छैन ।
यसबीच, मृतककी बहिनी हिमाले वडा प्रहरी कार्यालय चन्द्रौटामा औपचारिक उजुरी दर्ता गराएकी छन् । प्रहरीका अनुसार घटनाको गहिरो अनुसन्धान भइरहेको छ । घटनापछि नागरिक समाज, मानवअधिकारकर्मी र स्थानीय बासिन्दाले पोस्टमार्टममा प्रत्यक्ष संलग्न दुवै कर्मचारीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरिरहेका छन् । अस्पतालजस्तो संवेदनशील संस्थामा यस्ता अनैतिक क्रियाकलाप हुनु अत्यन्तै अमानवीय र आपत्तिजनक भएको उनीहरूको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।