२०८२ मंसीर १२ गते , शुक्रबार

सशस्त्र प्रहरीमा बढुवा धमाधम

sajilo news
पत्रपत्रिका
२०८२ श्रावण १ गते , विहीबार
सशस्त्र प्रहरीमा बढुवा धमाधम

काठमाडौँ । सशस्त्र प्रहरी बलमा पछिल्ला दिनमा बढुवा प्रक्रिया धमाधम अघि बढाइएको छ । गत २६ असारमा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी), प्राविधिक समूहतर्फको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र साधारण समूह लेखा उपसमूहतर्फको एसएसपीको बढुवा प्रक्रिया अघि बढाइएको थियो ।

जसअनुसार बुधबार साधारण उपसमूहको डीआईजीमा एसएसपी मनीष थापा, प्राविधिक समूहतर्फको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा इन्जिनियर मिलनमान मास्के र साधारण समूह लेखा उपसमूहतर्फको एसएसपीमा होमबहादुर ज्ञवाली बढुवा सिफारिस भएका छन् ।

डीआईजीमा सिफारिस भएका थापा सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । यसअघि सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दुई जनालाई बढुवा गर्दा उनलाई छुटाइएको थियो । त्यसबेला सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दीपेन्द्र कुँवर र विष्णु भट्टलाई बढुवा गरिएको थियो ।

यस्तै, सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहका कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ज्ञवाली एसएसपीमा बढुवा सिफारिस भएका छन् । उनी आर्थिक प्रशासन महाशाखाको प्रमुखका रूपमा कार्यरत छन् । सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहमा एसएसपीको एउटा मात्र दरबन्दी छ । ज्ञवाली सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् ।

यस्तै, बुधबार नै साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को बढुवा सूचना निकालिएको छ । यसका लागि आवेदकहरूलाई फाराम भर्न १५ दिनको समय दिइएको छ ।

सशस्त्रमा हाल एसएसपीको ६ पद रिक्त छ । जसमा समिक महर्जन, दीपक थापा, हर्कराज पन्त, धु्रव कार्की, प्रदीप कार्कीलगायत बढुवाका प्रमुख दाबेदार छन् ।

यस्तै, एसएसपीमा ६ जना बढुवा हुँदा एसपीमा २२ वटा संख्या रिक्त हुनेछ । यसपटक एसपीमा सिसं ३, साढे ३ र सिसं ४ को सशस्त्र प्रहरी निरीक्षक बेसिकको टोली बढुवामा पर्ने बताइएको छ ।

सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एक जना डीएसपी यसपटकको बढुवामा पर्नेछन् । यसअघि कारबाहीमा परेकाले उनको बढुवा हुन सकेको थिएन । यस्तै, साढे ३ टोलीका ६ जना पनि एसपीको दाबेदार छन् ।

यसअघि जेठदेखि असारको करिब एक महिनाको बीचमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबलदारसम्म २ हजार १ सय ९६ जनाको बढुवा गरिएको थियो । जसमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा ११ जना, नायब निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक ६ जना, सशस्त्र प्रहरी वरिष्ठ हबलदारमा ६ सय ३ जना, हबलदारमा ७ सय ५९ जना र सहायक हबलदारमा ७ सय ८३ जना परेका थिए । यो खबर राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार