२०८२ मंसीर १२ गते , शुक्रबार

साउदीमा रोजगारदाताले नै बनाउँछ कामदारलाई गैरकानुनी

sajilo news
पत्रपत्रिका
२०८२ असार २७ गते , शुक्रबार
साउदीमा रोजगारदाताले नै बनाउँछ कामदारलाई गैरकानुनी

काठमाडौँ । धादिङका राजन रानामगर वैदेशिक रोजगारीका लागि ७ वर्षअघि साउदी अरब पुगे । साउदीस्थित तुर्किस आइसक्रिम कम्पनीमा काम गर्दागर्दै उनी सन् २०२२ मा बिदा लिएर घर फर्किए । घरबाट साउदी फर्किएपछि रानामगरको गैरअनुमति (अकामा) नवीकरण भएन । उनी कार्यरत पसल मार्च महिनादेखि बन्द भएपछि उनी कामविहीन भए ।

कामविहीन भएर घर फर्कनुपर्ने अवस्था भए पनि रोजगारदाता कम्पनीले अकामा नवीकरण नगरिदिँदा उनी त्यहाँ गैरकानुनी बन्न पुगे ।

अकामा समस्याले नेपाल फर्कन नसकेको अवस्थामा उनी रियादस्थित नेपाली दूतावासमार्फत अलकासिम प्रतिनिधि विशालकुमार श्रेष्ठको सम्पर्कमा पुगे । त्यहाँ उनले लेबर कोर्ट गएर आवश्यक कागजात दिए । त्यसपछि (बहिर्गमन) एक्जिट भिसा प्राप्त गरी उनलाई नेपाल फर्काइयो ।

एक्जिट भिसा दिलाई रानामगरलाई स्वदेश फर्काइएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिम साउदीले जनाएको छ ।यसैगरी, अर्घाखाँचीका रिमबहादुर नगरकोटीलगायत जुलाई महिनामा अकामा नवीकरण नभएका, हुरुब लागेकालगायत विभिन्न समस्यामा परेका ३० जना नेपालीलाई पनि दूतावास रियादमार्फत स्वदेश फर्काइएको छ । अलकासिम प्रतिनिधि श्रेष्ठ तथा आरसीसी अलकासिमका सहकोषाध्यक्ष अली हुसैन मियाको सहयोगमा उनीहरूलाई पनि एक्जिट भिसा प्रक्रिया पूरा गरी नेपाल पठाइएको छ । केही फर्कने प्रक्रियामा रहेको एनआरएनएले जनाएको छ ।

पछिल्लो समय साउदीमा कम्पनीले समयमा तलब नदिने तथा अकामा पनि नवीकरण नगरिदिँदा कमाएको धेरथोर पैसा पनि पठाउन समस्या हुने गरेको छ । अकामा नहुँदा बिदाको समयमा बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ ।

साउदी अरबका कम्पनीले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा नवीकरण नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रूपमा काम गर्न बाध्य छन् । अहिले कम्पनीहरूले अकामा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपालीलाई बाहिर हिँडडुल गर्न समस्या भएको छ ।

आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् । साथै, यस्ता घटनालाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत नेपालीलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गर्दै आएको छ ।

कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिमाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण सयौं नेपाली स्वदेश फर्किन सकेका छैनन् ।

कामदार बोलाउने अनि अकामा नबनाइदिने र बनाइदिए पनि म्याद सकिएपछि नवीकरण नगरिदिने रोजगारदाताविरुद्ध नेपाल सरकार तथा दूतावासले पनि एक्सन लिनुपर्ने देखिन्छ । साउदीमा विभिन्न पेसा गरी करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका पाइन्छन् । यो खबर आजको राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार