२०८२ मंसीर १२ गते , शुक्रबार

साउदीमा नेपालीसहित झन्डै १८ हजार कामदार पक्राउ

sajilo news
पत्रपत्रिका
२०८२ असार २६ गते , विहीबार
साउदीमा नेपालीसहित झन्डै १८ हजार कामदार पक्राउ

काठमाडौँ । साउदीले गैरकानुनी कामदारमाथि धरपकड तीव्र पारेसँगै १७ हजार ८ सय ६३ जना पक्राउ परेका छन् । साउदीको विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १७ हजार ८ सय ६३ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ ।

पक्राउ पर्नेहरूमा १० हजार ७ सय ४६ जना रेसिडेन्सी कानुन उल्लंघन गर्ने, ४ हजार ३ सय ६२ जना सीमा सुरक्षा कानुन उल्लंघन गर्ने र २ हजार ७ सय ५५ जना श्रम कानुन उल्लंघन गर्नेहरू रहेका छन् । मन्त्रालयका अनुसार ८ हजार ५१ जना अवैध आप्रवासीलाई देश निकाला गरिएको छ । बाँकी ६ हजार ८ सय ३९ जना उल्लंघनकर्तालाई यात्रा कागजात प्राप्त गर्न उनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको जनाइएको छ ।

कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने २६ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने जनाइएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपालीलाई पक्राउ गरी जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।

पछिल्लो समय साउदी पुगेका ५ सय ४४ जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार