यात्रा प्रतिबन्ध हटेसँगै इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू
काठमाडौं । केही साता अघिसम्म चलेको इजरायल–इरान द्वन्द्वका कारण नेपाली नागरिकलाई भ्रमण यात्रामा सचेत रहन सरकारले ट्राभल एड्भाइजरी मार्फत लगाईएको यात्रा प्रतिबन्ध हटेसँगै अहिले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया पुनः सुरू भएको छ ।
दुई मुलुकबीच निकै भयावह रूपमा चलेको आणवीक हत्तियार तथा ठुला बम फिस्फोटनका कारण नेपाली नागरिकको ज्यान जान सक्ने अवस्थालाई मध्येनजर गर्दै ट्राभल एड्भाइजरी जारी मार्फत परराष्ट्र मन्त्रालयले इजरायलको यात्रा भ्रणमा प्रतिवन्ध लगाएको थियो ।
द्धन्द्धग्रस्त दुईदेश इजरायल र इरानबीच औपचारिक रुपमा युद्धबिरामको घोषणा भएपछि केही दिनअघि मात्र परराष्ट्र मन्त्रालयले इजरायलमा पूर्ववत रुपमा यात्रा गर्न सकिने सूचना जारी गरेसँगै दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर)का लागि ७५ जनाको करार सम्झौता प्राप्त भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
दुई देशबीच भएको समझदारी अनुसार वैदेशिक रोजगार विभागले सरकार टु सरकार ( जिटुजी) मार्फत इजरायल जाने नेपाली कामदारकालागि सूचना जारी गर्दै अहिलेसम्म ७५ जना केयरगिभरको करार सम्झौता प्राप्त भएको जनाएको छ ।
विभागका इजरायल हेर्ने जिटुजी शाखाका निर्देशक गिरीराज ज्ञवालीले अहिलेसम्म करिब ७५ जना केयरगिभरको करार सम्झौता प्राप्त भएको बताए । जसमध्ये ३० जना पुरुष र ४५ जना महिला कामदारको करार सम्झौता प्राप्त भएको उनले जानकारी दिए । ज्ञवालीले अहिलेसम्म करार सम्झौता प्राप्त भएकाहरूलाई धमाधम करार सम्झौता गर्न बोलाएर करारपत्रमा सम्झौता गर्ने काम भइरहेको बताए ।
नेपाल सरकार र इजरायल सरकारबीच सम्पन्न द्धिपक्षिय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारको रूपमा काम गर्न जाने नेपाली कामदारहरू मध्ये गत बुधबारदेखि अहिलेसम्म ३ चरणमा गरि कुल ७५ जनाको करार सम्झौता प्राप्त भएको जानकारी गराउँदै उनले सम्बन्धीत व्यक्तिहरूलाई धमाधम विभागमा बोलाएर करार सम्झौता गर्ने काम जारी रहेको बताए । सम्बन्धीत व्यक्तिहरूलाई आगामी सोमबार बिहानसम्म करार सम्झौता गर्न बोलाईएको विभागले जनाएको छ ।
विभागका अनुसार यसपछि सो करार सम्झौतापत्रमा सम्बन्धीत उम्मेदवारहरुले गरेको सम्झौता इजरायलको जनसंख्या र अध्यागमन प्राधिकरण (पिवा) र इजरायली दूतावासकोे कन्सुलर डिभिजनमा भिसाका लागि पठाइँने छ । वैदेशिक रोजगार विभागले केयरगिभरकालागि इजरायल जाने प्रतिक्षा सूचिमा रहेका उम्मेदवारलाई विभिन्न समय र दिनमा ३ समूहमा विभाजनगरी आवश्यक कागजात सहित विभागमा उपस्थित हुन आह्वान गरेको छ ।
गत ३० जेठबाट इजरायल–इरान युद्धसुरु भएपछि परराष्ट्र मन्त्रालयले अत्यावश्यक काम बाहेकको अवस्थामा द्धन्द्धग्रस्त मुलुक इजरायलमा जान प्रतिवन्ध लगाएको थियो । त्यसयता केयर गिभरका लागि इजरायल जाने प्रक्रिया पुरै स्थगित भएको थियो । जसका कारण भिसा लागेर हवाई टिकट बुकिङ गरिसकेका ३५ जना नेपाली सहायक कामदार पनि सो यात्रा प्रतिबन्धका कारण इजरायल जानबाट रोकिएका थिए । अब उनीहरू पनि इजराय जाने तयारीमा रहेको विभागले जनाएको छ ।
झन्डै तेस्रो विश्वयुद्ध नै निम्त्याउनेगरि एकदमै भयावह रुपमा १२ दिनसम्म चलेकोे दुई देशबीचको द्धन्द्ध रोकिएपछि परराष्ट्र मन्त्रालयले गत मंगलबार इजरायल जाने यात्रा प्रतिबन्ध फुकुवा गरेको थियो ।
नेपाली कामदारको वैदेशिक रोजगारीकालागि आकर्षक श्रम गन्तव्यमुलुक इजरायलका लागि २०८१ सालको असारमा खुलेको आवेदनबाट पहिलो चरणमा छानिएका ९ सय १९ जना मध्ये हालसम्म ५ सय ४३ जना नेपाली कामदार इजरायल गइसकेको विभागले जनाएको छ । अहिले ३५ जनाको भिसा लागिसकेको छ भने ७५ जना नेपाली कामदारको करार सम्झौता प्राप्त भई धमाधम सम्झौता गराउने काम भइरहेको विभागले जनाएको छ ।
विभागले आह्वान गरेको करार सम्झौता गर्न विभागमा जाने सम्बन्धीत उम्मेदवारहरूलाई म्याद बहाल रहेको प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल र सो को प्रतिलिपी २ थान, सक्क्ल राहदान र प्रतिलिपि २ थान, पासपोर्ट साइजको हालसालै खिचेको रंगीन फोटो २ थान लिएर जानुपर्ने छ ।
यसैगरी, सम्बन्धीत उम्मेदवारले पुरानो मेडिकल रिपोर्टको प्रतिलिपी र यसअघि स्वास्थ्य परिक्षण गरिएका स्वास्थ्यसंस्थाहरूबाट पुनः स्वास्थ्य परीक्षण गराईएको रिपोर्टको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्र र तालिम प्रमाणपत्रको सक्कल २ थान सहित सहभागी हुन भनिएको विभागले जनाएको छ । यो खबर राजधानी दैनिकमा छ ।