२०८२ मंसीर १२ गते , शुक्रबार

सवा लाख पुग्यो ‘कालोसूची’मा पर्ने ऋणीको संख्या

sajilo news
पत्रपत्रिका
२०८२ असार २० गते , शुक्रबार
सवा लाख पुग्यो ‘कालोसूची’मा पर्ने ऋणीको संख्या

झापा । चालू आर्थिक वर्षको १२ महिना नबित्दै सूचना केन्द्रको कालोसूचीमा पर्ने ऋणीको संख्या ४४ हजारनजिक पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवमा बैंक तथा वित्तीय संस्थामा ३८ हजार ९ सय ४६ र लघुवित्तमा ४ हजार ९ सय ६१ जना कालोसूचीमा परिसकेका छन् ।

१९ असार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाको कारोबारमा मात्रै कालोसूचीमा पर्नेको संख्या कुल १ लाख २० हजार ९ सय २० रहेको केन्द्रको तथ्यांक छ । चालू आव लागेपछि मात्रै कालोसूचीमा पर्नेको संख्या ३८ हजार ९ सय ४६ रहेको छ । लघुवित्तमा मात्र चालू आवमा ४ हजार ९ सय ६१ जना कालोसूचीमा परेका छन् । असार महिनाको १८ दिनको अवधिमा मात्रै ५ सय ११ जना लघुवित्तमा कालोसूचीमा परिसकेका छन् । २०७९ साउनदेखि मात्रै लघुवित्तमा कर्जा नतिर्नेहरूलाई कालोसूचीमा राख्न थालिएको थियो । हालसम्म लघुवित्त क्षेत्रमा मात्रै कालोसूचीमा पर्ने ऋणीको संख्या ८ हजार ८ सय ९१ रहेको छ ।

भूकम्प, नाकाबन्दी र कोरोनाका कारण उत्पन्न भएको आर्थिक शिथिलताले व्यापार व्यवसायलगायत गतिविधिमा सुस्त हुँदा कालोसूचीमा परेका हुन् ।उच्च महँगीका कारण ‘कर्जा डिफल्ट’ र चेक बाउन्सका घटना बढ्दैजाँदा कालोसूचीमा पर्नेको संख्या उच्च दरले वृद्धि भएको एकथरीको भनाइ छ । अनुत्पादक क्षेत्रका रूपमा रहेको जग्गामा अन्धाधुन्ध लगानी गरेकाले र जग्गाको मूल्य बढ्न नसक्दा पनि कालोसूचीमा परेको हो ।

बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी नगरेका मात्रै नभएर चेक बाउन्समा पनि ग्राहकहरूलाई कालोसूचीमा राखिँदै आएको छ । त्यसले गर्दा पछिल्ला केही वर्षयता कालोसूचीमा पर्नेको संख्या उल्लेख्य रूपमा बढेको हो ।

कर्जा सूचना केन्द्रले २१ फागुन २०४६ देखि कालोसूचीमा पर्नेहरूको विवरण वेबसाइटमा अद्यावधिक गर्दै आएको छ । ३१ असार २०७९ मा २६ हजार ३ सय ४७ व्यक्ति तथा कम्पनी कालोसूचीमा रहेकामा अहिले आएर १ लाख ३० हजारको हाराहारीमा पुगिसकेको छ ।

केही महिनाको भाका राखेर चेक काट्ने र व्यापार भएपछि साटिनेगरी कारोबार गर्ने व्यवसायीमा व्यापार नहुँदा चेक नसाटिने र चेक नसाटिँदा त्यसलाई बाउन्स गरेसँगै धेरैजसो कालोसूचीमा पर्ने गरेका छन् । आव २०७१–०७२ पछि मात्रै ६८ हजार १ सय २२ जना कालोसूचीमा परेका छन् ।

आव २०७१–७२ को अन्तिमसम्म कालोसूचीमा पर्नेको संख्या जम्मा ३ हजार १ सय २९ जना मात्रै थियो । आव २०७२–७३ मा ४ सय ९ जना थपिएपछि सो संख्या संख्या ३ हजार ६ सय ९ पुग्यो । आव २०७३–७४ मा यसरी कालोसूचीमा पर्नेहरूको संख्या ५ सय १ जना थपिँदै ४ हजार १ सय ११ पुग्यो । त्यसको अर्को वर्ष २०७४–०७५ मा सो सूचीमा ८ सय ९२ जना थपिएपछि सो संख्या ५ हजार २ पुग्यो । आव २०७५–०७६ मा भने एकै वर्ष १ हजार ८ सय ६७ जना ऋणी कालोसूचीमा थपिए । यसपछि कालोसूचीमा पर्ने संख्या ६ हजार ८ सय ६९ पुग्यो ।

आव २०७६–०७७ मा यो संख्या २ हजार ९ सय ८५ जना थपियो र ९ हजार ८ सय ५४ जना पुग्यो । आव २०७७–०७८ मा ४ हजार ३ सय ४१ जना थपिएपछि कालोसूचीमा पर्ने ऋणीको संख्या १४ हजार १ सय ९५ जना पुग्यो । यसैगरी, आव २०७८–०७९ मा ११ हजार ९ सय ६७ जना थपिँदै सो संख्या २६ हजार १ सय ५८ पुगेको तथ्यांक छ । आव २०७९–०८० मा २२ हजार जना कालोसूचीमा परेको देखिएको छ । त्यसयता लगातार उकालो लागेको कालोसूचीमा पर्नेको संख्या गत आव २०८०–८१ सम्म आइपुुग्दा एकै वर्षमा एकाएक बढेर ३३ हजार नाघेको थियो । चालू आवको १२ महिना नपुग्दै कालोसूचीमा पर्नेहरूको संख्या ३८ हजार ९ सय ४६ पुगेको छ । लघुवित्तमा मात्रै यस आवमा ४ हजार ९ सय ६१ जना कालोसूचीमा परिसकेका छन् । बैंक तथा वित्तीय संस्था र लघुवित्त जोड्ने हो भने चालू आवमा ४४ हजारको हाराहारीमा कालोसूचीमा परेको देखिएको छ । यो खबर राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार