साउदी अरेबियामा गैरकानुनी श्रमिकमाथि व्यापक धरपकड
काठमाडौं । साउदी अरेबिया सरकारले गैरकानुनी श्रमिकमाथिको धरपकडलाई तीव्र पारेसँगै दैनिक हजारौं कामदार पक्राउ परिरहेका छन् ।
साउदीको गृह मन्त्रालयले साउदी अरबभर आवास, श्रम र सीमा सुरक्षा कानुनको पालना सुनिश्चित गर्न निरीक्षण अभियान सञ्चालन गरेर १३ हजार ५ सयभन्दा बढी अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा आवास कानुन उल्लंघन गर्ने ७ हजार ९ सय ३ जना, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ३ हजार ७ सय ४४ र र श्रम कानुन नियम उल्लंघन गर्ने १ हजार ८ सय ८५ जना छन् । यस्तै, ९ हजार ४ सय ७९ जनालाई देश निकाला गरिएको छ भने हजार २ सय २५ जनालाई यात्रा कागजात प्राप्त गर्न आ–आफ्नो दूतावासमा पठाइएको छ । थप २ हजार ७२ जनालाई यात्रा व्यवस्था पूरा गर्न पठाइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै, गैरकानुनी रूपमा बसोबास गर्नेहरूलाई उल्लंघन गर्न सहयोग पु¥याएको, यातायात, आश्रय वा रोजगारी प्रदान गरेको आरोपमा १७ जना व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ । मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।
साउदीमा कानुन उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । देशका सुरक्षा बलहरूद्वारा गरिएको ‘क्र्याकडाउन’ले राज्यका सबै क्षेत्रमा कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । उनीहरूमाथि जनतालाई राज्यभरि तोकिएको आपत्कालीन सम्पर्कहरूमार्फत कुनै पनि संदिग्ध उल्लंघनको रिपोर्ट गर्न आग्रह गरेको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका छन् । उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने भएको छ ।
साउदी जेलमा रहेका ५ सय ४४ मध्ये ३ सय ४५ जना रक्सी बनाएर बेचेको आरोपमा, ८४ जना लागूऔषध ओसारपसार तथा कारोबार, ४३ जना चोरी केसमा, १२ जना वेश्यावृत्तिमा, १६ जना तोडफोडमा, १५ जना घुसखोरी, ४ जना व्यक्ति हत्या, ७ जना कानुन उल्लंघन, ११ जना धोखाधडी र ५ जना उत्पीडन केसका छन् ।
जसमध्ये ३ सय ४१ जनालाई आधिकारिक रूपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३ जनाको फैसला आउन बाँकी रहेको श्रम काउन्सिलर कविराज उप्रेतीले बताए । अहिले साउदीको जेलमा रहेका ५ सय ४४ जना नेपालीमध्ये झन्डै ८० प्रतिशत जाँडरक्सी खाएको तथा ओसारपसार र उत्पादनको कसुरका भएको साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर उप्रेतीले बताए ।यो खबर राजधानी दैनिकमा छ ।