इरानमाथि इजरायली सेनाद्वारा ६० भन्दा बढी लडाकु विमानमार्फत रातभर आक्रमण
जेरुसेलम । इजरायली सेनाले बिहीबार रातभर तेहरानका दर्जनौं ठाउँमा गरेको आक्रमणका क्रममा ‘इरानको आणविक हतियार परियोजना अनुसन्धान र विकास केन्द्र’लाई समेत निसानामा पारेको छ । इजरायली सेनाले तेहरानको मुटुमा शृृंखलाबद्ध आक्रमण सम्पन्न गरेको जनाएको छ ।
सैन्य क्षेप्यास्त्र उत्पादनस्थल र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि ‘अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च (एसपीएनडी)’ मुख्यालयसहित दर्जनौं लक्ष्यमा प्रहार गरिएको उसले बताएको छ । इजरायली सेनाका अनुसार एसपीएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियार अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।
बिहीबार राति ६० वटाभन्दा बढी लडाकु विमानले दर्जनौं सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ । ‘लक्ष्यमध्ये मिसाइल कम्पोनेन्ट उत्पादन गर्ने साइट र कास्टिङ मिसाइल इन्जिनमा प्रयोग हुने कच्चा पदार्थ निर्माण गर्ने सुविधा थिए,’ इजरायली सेनाले भनेको छ । इरान आणविक हतियार विकास गर्ने संघारमा रहेको दाबी गर्दै इजरायलले एक साताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । सो आक्रमणपछि दुवैतर्फबाट घातक आक्रमण सुरु भएका छन् ।
आणविक वार्ता तयारी
युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान–इजरायल युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहेका छन् । इजरायलले इरान आणविक हतियार विकास गर्ने संघारमा रहेको भन्दै एक साताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध ठूलो आक्रमणको लहर सुरु गरेको थियो । सो आक्रमणपछि इरानले तत्काल जवाफी आक्रमण सुरु ग¥यो ।
मैदानमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौ ं लक्ष्यमा आक्रमण गरेको बताएको छ । यसमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ पनि समावेश छ । सेनाका अनुसार इरानबाट क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलमा साइरन बज्यो । प्रहरीले आपत्कालीन प्रतिक्रिया टोली र वम डिस्पोजल विशेषज्ञहरू दक्षिणी सहरमा ‘प्रक्षेप्य प्रभाव भएको ठाउँमा’ सञ्चालन भइरहेको बताएको छ ।
युरोपेली नेताहरूले इजरायलसँगको इरानको युद्धमा तनाव कम गर्न आग्रह गरेका छन् भने ट्रम्पले ‘आगामी दुई साताभित्र’ लडाइँमा संयुक्त राज्य अमेरिकालाई संलग्न गराउने कि नगराउने निर्णय गर्ने बताएका छन् । इजरायल, संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी शक्तिहरूले इरानलाई आणविक हतियार खोजेको आरोप लगाउँछन् ।
सो आरोपलाई इरानले अस्वीकार गरेको छ । इरानले ६० प्रतिशत युरेनियम संवद्र्धन गरिरहेको थियो । यो अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सन् २०१५ को सम्झौताले तय गरेको ३ दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै तर अझै पनि आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।
सहायक क्षति
युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई समर्थन गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्षेप्यास्त्र आक्रमणमा ४० जना घाइते भएका र धेरै अस्पतालका वार्ड ध्वस्त भएपछि इरानले ‘भारी मूल्य’ चुकाउने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले स्वास्थ्य केन्द्रमा भएको आक्रमणलाई ‘भयावह’ भनेका छन् भने संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले नागरिकलाई ‘सहायक क्षति’का रूपमा व्यवहार गरिएको उल्लेख गरेका छन् ।
इरानमा इजरायलको आक्रमणबाट भाग्ने मानिस खाद्यान्न अभाव र सीमित इन्टरनेट पहुँचसहित डरलाग्दा दृश्य र कठिन जीवनयापन अवस्थाबाट गुज्रन बाध्य छन् । ‘दिन र रात धेरै डरलाग्दा थिए, साइरन सुन्दै, रुँदै, मिसाइलले प्रहार गर्ने खतरा,’ तेहरान विश्वविद्यालयका विद्यार्थी मोहम्मद हसनले जन्मभूमि पाकिस्तान फर्केपछि भने ।
आणविकस्थल
इजरायलले बिहीबार आंशिक रूपमा निर्मित अराक आणविक रिएक्टर र नातान्जमा युरेनियम संवद्र्धन सुविधासहित ‘दर्जनौ ं’ इरानी लक्ष्यमा प्रहार गरेको बताएको छ । इरानी आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद एस्लामीले संयुक्त राष्ट्र आणविक निगरानी निकाय आईएईएलाई लेखेको पत्रमा अराक रिएक्टरमा प्रहार भएको पुष्टि गर्दै इजरायलको ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन’ रोक्न कारबाही माग गरेका छन् ।
मध्य इजरायली सहर बात यामममा आइतबार आक्रमण भएको स्थानमा एक महिलाको शव भेटिएको छ । अधिकारीका अनुसार यो शवसँगै गत १३ जुनदेखि इरानी मिसाइलबाट इजरायलमा मृत्युको संख्यालाई २५ जना पुगेको छ । इरानले आइतबार इजरायली आक्रमणले सैन्य कमान्डर, आणविक वैज्ञानिक र नागरिकसहित कम्तीमा २ सय २४ जनाको मृत्यु भएको बताएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।