आजबाट ग्वार्को ‘फ्लाइओभर’मा गाडी हुइँकिँदै
ललितपुर । ललितपुरको ग्वार्काेमा निर्माण सम्पन्न भएको ओभरपास (फ्लाइओभर) आजबाट सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकामा अधिक जाम हुने स्थानका रूपमा रहेकोे ग्वार्को चोकमा राहत खोजिरहेका लाखौं यात्रुका लागि यसले राहत दिनेछ । ३९ महिनाको निर्माण कार्यपछि ५ सय ४० मिटर लामो ग्वार्को फ्लाइओभर अन्ततः शुक्रबार (आज)देखि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्ने तयारी रहेको छ ।
चक्रपथ सडकको बीचको चार लेन सडक पर्खाल लगाएर माथि उठाई ओभरपास (फ्लाइओभर) बनाइएको छ । ग्वार्काे फ्लाइओभरअन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो एप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोमा ¥याम बनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सो फ्लाइओभरको उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
मुख्य संरचनाको निर्माणपछि सडकको मध्यलाइनमा ‘लेन सेपरेटर’ राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन गर्न लागिएको हो । फ्लाइओभरमार्ग सवारीका लागि खुला गरिने सडक विभागले जनाएको छ । सडक लाइनिङ गर्ने लगायतका अन्तिम तयारी सकाइसकिएको छ ।
ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको सोे फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । फ्लाइओभरअन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको सडक विभागले जनाएको छ । फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि गरिनेछ ।
आशीष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको फ्लाइओभर सुरु ठेक्का सम्झौताबमोजिम ११ फागुन २०८० मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।
सडक विभागले ईपीसी मोडलमा फ्लाइओभर निर्माण गर्नेगरी २०७८ माघमा आरसी समानान्तर र रेलिगेर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिइएको अन्तिम म्याद गत ८ पुसमै सकिसकेको थियो । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै फ्लाइओभरलाई अन्तिम चरणमा पु¥याएको हो ।
फ्लाइओभर सञ्चालनमा आएपछि त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता पुग्ने विश्वास लिइएको छ । विशेषगरी, ग्वार्को चोकमा सवारीसाधन लामो समयसम्म कुर्नुपर्ने समस्या फ्लाइओभर सञ्चालनपछि अन्त्य हुनेछ ।
पटकपटक गरी थप गरिएको म्याद ८ पुस २०८१ सम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले २०८१ चैत मसान्तसम्मका लागि म्याद थप गर्न माग गरेको थियो । सो सडकमा कालोपत्रे १२ सेमी राखिएको छ । १५ सेमी डीबीएम, ३० सेमी बेस, ३० सेमी समाबेस गरिएको छ । साथै, ट्राफिक लाइट जडान कार्य पनि कम्पनीले नै गर्नुपर्ने सम्झौता छ ।
कोटेश्वरतर्फ ३ सय २० मिटर सडकमा र सातदोबाटोतर्फ १ सय ८० मिटरमा प्रिकास्टस कंक्रिट फेसिया प्यानल जडान भएको छ । क्रंक्रिट प्यानल र ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर १० दशमलव २ मिटर अग्लो ¥याम्प बनाइएको छ ।
इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअनुसार ठेक्का गरिएकाले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिएको थियो । डिजाइन नमिलेपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले पुनः डिजाइन गरेका थिए । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम नसकिएको व्यवसायीले बताउँदै आएको थियो ।
२०२२ फेब्रुअरीमा सुरु भएको यो परियोजना लगातार समस्यामा अल्झिएको थियो । गत वर्षको वर्षामा ४ महिना काम रोकिएको थियो । सातदोबाटोतर्फको ४० मिटर ¥याम्पमा प्राविधिक गडबडी भएपछि निर्माण कम्पनीले पुनर्निर्माण गर्नुपरेको थियो ।
ग्वार्को चोकले मंगलबजार, इमाडोल र कोटेश्वर–कलंकी रिङरोड जोड्ने भएकाले फ्लाइओभरलाई ग्वार्कोदेखि सातदोबाटो–कोटेश्वरसम्म बिनारोकावट यातायात प्रवाह गर्ने कसीका रूपमा लिइएको छ ।
फ्लाइओभर सञ्चालनमा आएसँगै ६० देखि ७० प्रतिशत सवारी जाम ह्रास हुने र प्रतिदिन ३० देखि ४५ मिनेट यात्रा समय बच्ने अनुमान गरिएको छ ।ईपीसी मोडलमा बनाइएको सो फ्लाइओभरको स्थायी अनुगमन गरिने र ५ वर्षसम्म निर्माण कम्पनीले ग्यारेन्टीको जिम्मेवारी लिने सडक विभागले जनाएको छ ।
फ्लाइओभर उद्घाटनपछि यस वरिपरिका फुटपाथ, बत्ती, पार्किङ र ट्राफिक नियमन प्रणाली एकसाथ विकास गरिने बताइएको छ ।
ग्वार्कोसँगै सरकारले सातदोबाटो, नक्खुजस्ता चोकलाई पनि इन्डिपेन्डेन्ट फ्लाइओभर वा अन्डरपासको व्यवस्था गर्ने योजना गरिरहेको छ । विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएकामा निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले ८ पुस २०८१ सम्म म्याद थप गरेको थियो ।आजको राजधानी दैनिकमा खबर छ ।