२०८२ मंसीर १२ गते , शुक्रबार

विवाह भएको तीन दिनमै निधन

sajilo news
पत्रपत्रिका
२०८२ असार ५ गते , विहीबार
विवाह भएको तीन दिनमै निधन

राजविराज । चार दिनअघि सप्तरीको रुपनी गाउँपालिका–१ मुख्य बजार क्षेत्रका गुलजार मियाँको घरमा गजबको रौनक थियो । उनका २४ वर्षीय छोरा मो. आजाद मियाँको विवाह समारोह भएकाले घर दुलहीझैं सिँगारिएको थियो भने आफन्त छरछिमेक र साथीमा समेत उत्साह छाएको थियो ।

मो. आजादका साथीहरू सोही दिन साँझ नाचगान र रमाइलो गर्दै १८ किलोमिटर टाढा कडेरबोना बजार जन्ती गएका थिए । तर, चौथो दिन बुधबार त्यही आफन्त र साथीहरू मो. आजादको मलामी बनेर शोकपूर्ण माहौलमा सहभागी भए ।

दुर्भाग्य, गत आइतबार मात्रै विवाह भएका मो. आजाद चढेको मोटरसाइकललाई मंगलबार राति ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको छ । राति ९ः३० बजेतिर प्र२–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकल चढेर काम विशेषले शम्भुनाथ बजारतर्फ जाँदै गर्दा विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको स१प ४९७२ नम्बरको ट्याक्टरले शम्भुनाथ चौकनजिकै ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा उनीसँगै सवार सोही वडाका १८ वर्षीय मो. समीर मियाँ गम्भीर घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्याक्टर र चालक शम्भुनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय कैलाश यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो खबर राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार