भारतीय नागरिकले पनि ५ हजार डलर ल्याउन पाउने
भारतबाट नेपाल आउने भारतीय नागरिकले ५ हजार डलर रुपैयाँसम्म ल्याउन पाउने भएका छन् । नेपाल सरकारले भन्सार महसुल ऐनअनुसार नयाँ सूचना राजपत्रमा प्रकाशन गर्दै यो व्यवस्था गरेको हो । यसअघि भारतीय नागरिकले २५ हजार भारतीय रुपैयाँ मात्र साथमा ल्याउन पाउने प्रावधान रहेको थियो ।
नेपाल प्रवेश गर्दा ५ हजार अमेरिकी डलरभन्दा बढी मूल्यको विदेशी मुद्रा वा ट्राभलर्स चेक भएमा भन्सार विन्दुमा घोषणा अनिवार्य गरिएको छ । सरकारले भारतीय पर्यटक भनेर छुट्टै व्यवस्था नगरेपछि यही प्रावधान लागू हुने भएको हो ।
यसअघि अन्य मुलुकका पर्यटकको हकमा भने यसअघि पनि ५ हजार डलरको सुविधा उपलब्ध थियो । भारतबाट विवाहलगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वप्रयोजनका लागि ल्याउने गहना आफू फर्कंदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउनसक्ने पनि व्यवस्था गरिएको छ । यसका लागि भने २० प्रतिशत रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
विदेशी यात्रुले पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहना पछि फिर्ता लैजानेगरी भन्सार कार्यालयमा घोषणा गर्न पाउने प्रावधान छ । त्यसरी ल्याएको गहना यात्रु फर्कंदा भन्सार कार्यालयमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजानसक्ने बताइएको छ ।
सूचनामा नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपाल भित्रने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धमा नयाँ प्रावधान व्यवस्था गरेको छ ।
भन्सार ऐन, २०८१ को अधिकार प्रयोग गर्दै अर्थ मन्त्रालयले भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।सरकारले हालै प्रकाशन गरेको राजपत्रअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र कम्तीमा ६ महिना लगातार काम गरी फर्किएका नेपालीले आफूले प्रयोग गरेको एक थान मोबाइलबाहेक थप एक थान नयाँ मोबाइल फोन पूर्ण भन्सार छुटमा ल्याउन पाउने व्यवस्था गरिएको छ ।
कम्तीमा १२ महिना काम गरी फर्किएका र सामाजिक सुरक्षा कोषमा सूचीकृत रहेका नेपालीले जुनसुकै आकार वा प्रकारको एक थान टिभी पूर्ण भन्सार छुटमा ल्याउन पाइने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका भए पनि १२ महिना कार्य अनुभव प्रमाणित गरे ३२ इन्चसम्मको टिभीमा छुट पाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, वैदेशिक यात्राबाट फर्किने सबै नेपाली नागरिकले आफूले प्रयोग गर्दै गरेको ल्यापटप वा ट्याब्लेट, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन ल्याउन पाइने प्रावधान रहेको छ । यसैगरी, बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तताका सहायक उपकरण, ७ केजीसम्म खाद्य परिकार र एक लिटरसम्मको मदिरा पनि ल्याउन पाइने व्यवस्था रहेको छ । यो खबर राजधानी दैनिकमा छ ।