कुवेत र कतारमा श्रमिकलाई चर्को घाममा काम लगाउन रोक
काठमाडौँ । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले गर्मी महिनाका लागि अघिल्लो वर्षझैँ काम गर्ने समय तोकेको छ । खुला कार्यक्षेत्रमा कार्यरत कामदारका लागि १ जुनदेखि आगामी १५ सेप्टेम्बरसम्मका लागि काम गर्ने समयसीमा तोकिएको हो । यो खुला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारका लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।
यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखि अपराह्न ३ः३० बजेसम्मका लागि काम बन्द गर्नुपर्नेछ । साथै, कार्य समयतालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएका बेला सजिलै देखिनेगरी टाँसिएको हुनुपर्नेछ ।
मन्त्रालयका अनुसार नयाँ निर्णयले तातो तनावको जोखिम कम गर्न मद्दत गर्छ, जुन कामदारले पनि सामना गर्न सक्छन् र गर्मी अवधिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजना हो । नियम उल्लंघन गर्ने कम्पनीविरुद्ध कडा कारबाही चेतावनीसमेत दिइएको छ । गर्मीको समय कामदारलाई तनाव जोखिमबाट जोगाउन आवश्यक सावधानीसम्बन्धी २०२१ को मन्त्रिस्तरीय संकल्प १७ बमोजिम प्रतिबन्ध लागू गरिएको हो ।
कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत छन् । तीमध्ये ११ हजार ९० महिला छन् । यसैगरी, कुवेतमा चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)ले चर्को घाममा काम गर्नका लागि रोक लगाएको हो । पीएएमले श्रमिकलाई काममा बाधा पु¥याउनका लागि नभई उनीहरूको स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो ।
निर्णयानुसार बिहान ११ देखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रमा श्रमिकलाई काममा लगाउन पाइनेछैन । यो नियम आगामी ३१ अगस्टसम्म कायम रहनेछ । कुवेतको ‘पब्लिक अथोरिटी फर म्यानपावर’ले चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।
यो निर्णय गर्मीको समय सूर्यको तीव्र किरणबाट कामदारलाई जोगाउने र चलिरहेको आयोजनामा अवरोध नगरी काम व्यवस्थित गर्ने उद्देश्य रहेको पीएएमले जनाएको छ । राजधानी दैनिकमा खबर छ।