२०८२ मंसीर १२ गते , शुक्रबार

महोत्तरीमा फेला पर्‍यो १० हजार वर्ष पुराना हतियार

sajilo news
पत्रपत्रिका
२०८२ जेष्ठ १३ गते , मंगलबार
महोत्तरीमा फेला पर्‍यो १० हजार वर्ष पुराना हतियार

महोत्तरी । बर्दिबासमा फेला परेका १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन शुरु गरिएको छ। पुरातत्त्व विभागका विज्ञको टोलीले शनिबारदेखि बर्दीबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्त्विक अध्ययन थालेको बर्दीबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जानकारी दिए। 

प्राचीन मानव इतिहासमा प्रयोग भएका ढुङ्गे औजार सो क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्त्वलाई थप उजागर गर्न नगरपालिकाले अनुसन्धान शुरु गरेको काफ्लेले बताए। बर्दीबासमा पुरातात्त्विक पर्यटन प्रवर्धन गर्ने र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट प्राडा मञ्जित हजारियाको नेतृत्वको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको काफ्लेले बताए।

जर्मनीका अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८० को दशकमा तराईका विभिन्न भूभागमा मानव सभ्यताको अध्ययन गरी सन् २००७ मा ‘प्री हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्यपाषण युगमा हतियार निर्माण हुने स्थल भनेर चिनाएका थिए। कार्विन्सले उक्त किताबको भाग १, पृष्ठ २३९ मा अहिलेको राई मण्डल अर्थात् पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेका छन्।

रातोमाटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषण युगका हतियार भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उहाँले आफ्नो किताबमा उल्लेख गरेको पाइएको हो। मध्यपाषण १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १०  हजार वर्षअघिको नवपाषणको अवधिलाई भनिन्छ। गुडन कार्विन्सले गरेको अध्ययन अनुसार यो ठाउँ १० हजार वर्षअघिको मध्यपाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ।

कर्विन्सले राई मन्डल आसपास र पाटुमा नै आएर किन अध्ययन गर्नुभयो होला भन्ने विषय अझै रहस्यमय छ तर विख्यात भूगर्भविद् कर्विन्सले गरेको अध्ययनपछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषण युगको हतियारचासोको विषय बनेको छ।

कर्विन्सले उक्त पुस्तकमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष पहिले अर्थात् मध्यपाषण युगमा मान्छेको बाक्लो चहलपहल रहेको उल्लेख गरेका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ । 

सम्बन्धित समाचार