२०८२ मंसीर १२ गते , शुक्रबार

उमेर छँदा खोले विद्यालय, पढाए, अहिले वृद्धाश्रमको बास

sajilo news
पत्रपत्रिका
२०८२ बैशाख २१ गते , आईतबार
उमेर छँदा खोले विद्यालय, पढाए, अहिले वृद्धाश्रमको बास

लमजुङ ।  कुनै वेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति थिए टेकनारायण घिमिरे। हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको शुरुवातसँगै चितवनका तीन विद्यालयमा समेत उनले पढाए। घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्‍याउने थियो । दुर्गममा शिक्षाको ज्योति फैलाउने तिनै घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारा लिन पुगेका छन्। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडाको लामपाटा स्थायी निवासी ८० वर्षीय घिमिरेले सो क्षेत्रमा १२ विद्यालय खोले। उत्तरी लमजुङको शिक्षाको संस्थापक भनेर चिनिने घिमिरेको योगदानलाई अहिले न राज्यले चिन्यो न त स्थानीयले नै सम्मान गरे । अन्ततः उनी बेसहारा बन्दै वृद्धाश्रममा थन्किन पुगे। 

पहिले ८ कक्षा उत्तीर्ण गरेपछि स्कुलमा पढाउन पाइन्थ्यो। त्यतिवेला संस्कृतमा तीक्ष्ण घिमिरे सबैको हाई हाई थिए। १० कक्षा पढेका घिमिरेलाई संस्कृत पढाउने राम्रो शिक्षक  भन्दै सबैतिर तानातान हुन्थ्यो । उनकै पहलमा एक दर्जन विद्यालय खुले। उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय माध्यामिक विद्यालय बाहुनडाँडादेखि चितवनको शशिनगर आधारभूत विद्यालयसम्म छन् । 

शिक्षण पेशामा २५ वर्षभन्दा बढी बिताउँदा घिमिरेले घरजम गर्ने, जायजेथा जोड्न समय नै पाएनन्। उनीसँग अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्रबाहेक अरू केही छैन। ‘सम्पत्ति, श्रीमती, परिवार सबै यही हो’, घिमिरेले भने, ‘दुर्गम गाउँमा विद्यालय खोल्न पाएँ, अहिले सबैले पढ्न पाए, त्यही नै खुशी लागेको छ।’ 

उनको योगदानको अभिलेख शिक्षा समन्वय एकाइ लमजुङमा समेत छैन। सरकारले एसएलसी उत्तीर्ण गरेका दरबन्दीका शिक्षक पठाउन थालेपछि उनले एक विद्यालय हुँदै अर्को विद्यालय चहार्नु पर् यो। पछि सबै विद्यालयमा एसएलसी उत्तीर्ण शिक्षक पुगेपछि उहाँ शिक्षण पेशाबाटै बाहिरिए। विद्यालयबाट अवकाश लिनु परेपछि घिमिरे केही समय पूजापाठ गरेर गाउँघरतिर चहारे। पूजापाठबाट पनि गुजारा नचलेपछि गाउँलेको गोठमा बसेर काम गरेको घिमिरेले बताए।

बेसहारा बनेपछि गाउँलेको सहयोगमा घिमिरेलाई १० वर्षअघि राइनास- ८, तार्कुघाट हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाम आश्रममा ल्याइएको हो । अधिकांश दाँत झरेका घिमिरे राम्रोसँग सुन्न पनि सक्दैनन्।

आफू जस्तै बेसहारा वृद्धवृद्धाबिच बस्न पाउँदा निकै खुशी लागेको घिमिरे बताउँछन्। तिनै बुढाबुढीबीच उनी संस्कृतका श्लोक, बालन, भजन र कविता सुनाएर बस्छन्। हाल उनी आत्मकथा लेखनमा लागेको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए। उनको आत्मकथा आश्रमले नै प्रकाशन गरिदिने ओलियाले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ । 

सम्बन्धित समाचार