पतिको मृत्यु भएको छैठौँ दिनमा पत्नीको पनि निधन
तुलसीपुर उपमहानगरपालिका-७ मोतीपुरमा पतिको किरिया गरिरहेकी भगवती शर्माको पनि निधन भएको छ। उनका पति नारायण आचार्यको ६ दिनअघि निधन भएको थियो। पतिको किरिया गर्न कोरामा बसेकी भगवतीको आज (शनिवार) बिहान निधन भएको हो।शुक्रवार राति ११ बजे जीवनजल पानी खाएर सुतेकी शर्मा शनिवार बिहान उठाउँदा नउठेपछि तत्कालै राप्ती लाइफ केयर हस्पिटल लगिएको थियो।
अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी लामो समयदेखि चिनीरोग, ब्लडप्रेसर, कोलेस्ट्रोललगायत रोगबाट पीडित थिइन्। एक दशकदेखि विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भएर काम गर्दै आएकी उनी नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्य हुनुका साथै राप्ती प्रादेशिक अस्पताल विकास समितिको पनि सदस्य थिइन्।
६ दिनअघि उनका पति नारायणको गोली लागेर मृत्यु भएको थियो। नारायणले घरमै रहेको १२ बोरको बन्दुकले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।