२०८३ असार ३ गते , बुधबार

काँग्रेसको तालाबन्दीले रोकिएन झापामा सहकारी संघको निर्वाचन 

sajilo news
झापा
२०८२ बैशाख १३ गते , शनिबार
काँग्रेसको तालाबन्दीले रोकिएन झापामा सहकारी संघको निर्वाचन 

झापा । नेपाली कांग्रेसले तालाबन्दी गरेपनि झापा जिल्ला सहकारी संघको निर्वाचन नरोकिने भएको छ । पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म बिर्तामोडको सिटी सेन्टरमा मतदान कार्यक्रम राखिएको छ । कांग्रेसले तालाबन्दी गरेपनि निर्वाचन कार्यक्रम यथावत् राखिएको झापा जिल्ला सहकारी संघका सचिव भवानी दंगालले बताए । किचलोका कारण तीन पटकसम्म निर्वाचन मिति सारेर अन्ततः भोलि बैशाख १३ गतेका लागि निर्धारण गरिएको निर्वाचनको अघिल्लो दिन नेपाली काँग्रेस समर्थक सहकारीकर्मीहरुले झापा जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरे । 

सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली काँग्रेसबिच भएको भागबन्डाको सहमति एमालेले पालना नगरेको भन्दै काँग्रेस समर्थक सहकारीकर्मीहरुले निर्वाचन नै हुन नदिने गरी तालाबन्दी गरेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसले गत चैत २३ गते दुई दलबीच पदको भागबन्डा गर्दै चुनावी गठबन्धन बनाउने सहमति गरेका थिए ।

एमालेको भागमा अध्यक्ष , खुल्ला उपाध्यक्ष , सचिव , कोषाध्यक्ष , लेखा समिति संयोजक , लेखा समिति सदस्य (महिला), ३ वटा खुल्ला सदस्य , ३ वटा खुल्ला महिला सदस्य , र क्षेत्रगत रुपमा क्षेत्र नं १, ३ र ४ गरी ३ सदस्य परेको थियो । त्यस्तै काँग्रेसको भागमा वरिष्ठ उपाध्यक्ष , महिला उपाध्यक्ष , सहसचिव , क्षेत्रगतरुपमा क्षेत्र नं २ र ५ को सदस्य र लेखा समिति सदस्य परेको थियो ।

त्यस सहमतिमा नेकपा एमालेका अध्यक्ष प्रेम गिरी , एमाले कोशी प्रदेश सदस्य घनश्याम अधिकारी , एमालेका सहकारी विभाग प्रमुख हरिदास ढुङ्गाना , काँग्रेसका तर्फबाट जिल्ला सभापति देउकुमार थेबे , जिल्ला सचिव कृष्ण हुमागाईँ र काँग्रेसका सहकारी विभाग प्रमुख दुर्गाप्रसाद सापकोटाले हस्ताक्षर गरेका थिए ।

दुई दलीय सहमति अनुसार अध्यक्षमा एमालेका तर्फबाट प्रेमकुमार कोइराला सर्वसम्मत भइसक्दा काँग्रेसको भागमा परेको केही पदहरूमा भने एमाले सहकारीकर्मीहरुले पनि उम्मेदवारी दिएका थिए । सहमति पालना गराउन काँग्रेसको जिल्ला नेतृत्वले एमालेको जिल्ला नेतृत्वलाई पटक-पटक आग्रह गर्दा पनि अटेर गरी उम्मेदवारी नछोड्दा कांग्रेसले तालाबन्दी गरेको जनाएको छ । सहमति विपरित काँग्रेसको भागमा परेका सहसचिव र क्षेत्रीय सदस्य पदमा एमालेका तर्फबाट पनि उम्मेदवारी दर्ता भएपछि विवाद उत्पन्न भएको छ । 

सम्बन्धित समाचार