२०८३ असार ३ गते , बुधबार

पाथीभरामा करेन्ट लागेर जीप दुर्घटना छानबिन गर्न समिति गठन

sajilo news
झापा
२०८२ बैशाख १२ गते , शुक्रबार
पाथीभरामा करेन्ट लागेर जीप दुर्घटना छानबिन गर्न समिति गठन

भद्रपुरका दुईसहित चारजनाको ज्यान जानेगरी सोमबार पाथीभरा क्षेत्रमा भएको सवारी दुर्घटनाको छानबिनका लागि विद्युत् विकास विभागले समिति गठन गरेको छ ।

विभागका सिनियर इन्जिनियर नूतन शर्माको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको विभागका प्रवक्ता सन्दीप देवले जानकारी दिए । उनका अनुसार विभागकै शालिकराम भण्डारी र नारायण श्रेष्ठ रहेका छन् भने पुलचोक इन्जिनियरिङ कलेजका एक जना प्रोफेसरलाई समितिको सदस्यमा राखिएको छ ।

आफूहरूले चाँडै घटनास्थलमा पुगेर अध्ययन गर्ने र विभागमा प्रतिवेदन बुझाउने संयोजक शर्माले जानकारी दिए । उनले प्रतिवेदन बुझाउने समय निर्धारण नभए पनि चाँडै काम गर्ने बताए ।

पोलबाट लत्रिएको तारले करेन्ट लागेर सदरमुकाम फुङलिङबाट काफ्लेपाटी जाँदै गरेको जिप जलेको थियो । जिपमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जनाको अहिले पनि काठमाडौँमा उपचार भइरहेको छ ।

झापा भद्रपुरका विनोद पौडेल, उनकी श्रीमती सरिता पौडेल र उनीहरूका नातिनी ललितपुर निवासी आध्या आचार्य र जिप चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर पौडेल दम्पतीका छोरी सविना पौडेल आचार्य सख्त घाइते भएकी थिइन् । सबिनाका छोरा भने दुर्घटनाबाट जोगिन सफल भए ।पाँच जना यात्रु लिएर पाथीभरा जाँदै गरेको जिपमा सेवारो चोक नजिक करेन्ट लागेको थियो ।

सम्बन्धित समाचार