२०८३ असार ३ गते , बुधबार

मोरङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु

sajilo news
झापा
२०८२ बैशाख १० गते , बुधबार
मोरङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु

मोरङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आज दिउँसो अन्दाजी ४.१० बजे मोरङ सुन्दरहरैचा– ९ चाँदनी पेट्रोल पम्पनजिक बिजुलीको पोलमा चढेर टेकमाईन इन्टरनेटको तार सिफ्टिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

इलाम चुलाचुली ३ बस्ने २८ वर्षीय राजेश लावतीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा दिउँसो ४ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै सुनसरी इटहरी १७ बस्ने ४३ वर्षीय बालकुमार अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई नोबेल अस्पतालबाट आर्या न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ ।

त्यस्तै आज दिउँसो २;३० बजे भारत बिहार जोगवनी टिकुलिया घर भई हाल विराटनगर १५ भटिमोडस्थित ससुराली घरमा बस्दै आएका ३६ वर्षीय सुरेश चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । कोठामा सुतिरहेको अवस्थामा बेडनजिकै राखेको टेबल पङ्खाबाट अचानक करेन्ट लागेर उनी घाइते भएका थिए । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा दिउँसो ३.४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । हिजो साँझ ६;१० बजे बर्जू गाउँपालिका ६ चिमडी बस्ने रामकुमार मेहताकी श्रीमती २८वर्षीया रेखा मेहतालाई घर सरसफाइ गर्ने क्रममा करेन्ट लागेको थियो । घाइतेलाई अस्पताल पुर्‍याउनसाथ डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

त्यस्तै आज साँझ सुनसरीको वराहक्षेत्रमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिका गम्भीर घाइते भएकी छन् । वराहक्षेत्र–१ खारखोला बस्ने गङ्गा खत्री श्रेष्ठका छोरी १२ वर्षीया सुस्मिता श्रेष्ठलाई आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेलाई स्थानीय अस्पताल चतरामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार