पाथीभरा दर्शनमा जाँदा ज्यान गुमाएका पौडेल दम्पतीसहित तीन जनाको शव आज भद्रपुर ल्याइँदै
ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाँदै गरेको जीपमा करेन्ट लाग्दा ज्यान गुमाएका भद्रपुरका तीन जनाको शव आज दिउँसो घर ल्याइने भएको छ ।
हिजो तीनै जनाको शवलाई ताप्लेजुङमा पोस्टमार्टम गरी आज बिहान त्यहाँबाट हिँडाइएको सहयोगी विकास कोइरालाले जानकारी दिए । सो घटनापछि भद्रपुर यतिवेला शोकमग्न भएको छ ।ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीपमा आगो लाग्दा झापा भद्रपुरका तीनसहित चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र उनीहरूकै नातिनी (छोरीको छोरी) हाल ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र जीप चालक फुङलिङ नगरपालिका वडा न. १० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
दुर्घटनामा घाइते भएकी ४५ वर्षीया सबिना आचार्य र उनका छोरा ९ वर्षीय भबिमय आचार्य (मृतक पौडेल दम्पतीका छोरी र नाति) लाई उपचारका लागि काठमाडौँ लगिएको छ । भद्रपुरबाट आफ्नो सवारी साधन लिई उनीहरू ताप्लेजुङ गएका थिए ।
हिजो बिहान ताप्लेजुङबाट पाथीभरा दर्शन गर्न होटेलमार्फत बुक भएको अर्को भाडाको गाडी लिएर जाँदै गर्दा सो दुर्घटना भएको हो । यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्बर को जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा हिजो बिहान ४.१५ बजेतिर दुर्घटनामा परेको थियो।