निजामती कर्मचारी संगठन झापाले मनायो स्थापना दिवस
भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापाले विविध रचनात्मक क्रियाकलापका साथ संगठनको ३५ औँ स्थापना दिवस मनाएको छ ।संगठनले आज बिहान भद्रपुर ४ स्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रमा आश्रित अपाङ्गता भएकाहरूलाई खाद्यान्न वितरण तथा भोजन गराएर एवम् दिउँसो सेवा निवृत्त कर्मचारीलाई सम्मानसहित बिदाइ र निजामती सेवाका नवप्रवेशीहरुलाई स्वागत गर्दै स्थापना दिवस मनाएको हो ।
संगठनले अपाङ्ग संघमा आश्रितहरूका लागि चामल, दाल तेल, चिनीलगायतका खाद्य सामग्री प्रदान गर्नुका साथै आश्रित १४ जनालाई एक छाक खाना खुवाएको संगठनका झापा सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।
संगठन झापाका अध्यक्ष न्यौपाने, संगठनका केन्द्रीय सदस्य तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले संक्षिप्त कार्यक्रममा बीच केन्द्रका कार्यवाहक अध्यक्ष पवन श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए ।
अध्यक्ष न्यौपानेले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको बताए ।यसैगरी, संगठनले दिउँसो भद्रपुर नगरपालिका, वडा नं १० को सभा हलमा संगठन अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम आयोजना गरी सेवा निवृत्त कर्मचारीलाई सम्मान तथा नवप्रवेशी कर्मचारीलाई स्वागत गरेको थियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य दीपक कार्की, कोशी प्रदेशका पूर्व सदस्य वसन्तकुमार बानियाँ, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
प्रमुख अतिथि कार्की, बानियाँ, सहायक प्रजिअ निरौला, नेपाल निजामती कर्मचारी युनियन झापा अध्यक्ष लक्ष्मीप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संगठनका सचिव पूर्णचन्द्र मैनालीले गरेका थिए ।