युवा संघ भद्रपुरले बनाइदियो विपन्न परिवारलाई घर
भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–१० मा करिब ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । हिरादेवी दर्जीको लागि निर्माण गरिएको घर दर्जीको स्वर्गारोहण भएपछि उनका छोरा घनश्याम दर्जीलाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदेम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य वसन्त बानियाँ , , कोशी प्रदेश कमिटी सदस्य तथा भद्रपुर इन्चार्ज घनश्याम अधिकारी , कोशी प्रदेश कमिटी सदस्य शिव राजभण्डारी , जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी , जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेल, जिल्ला कमिटी सचिव तुलसी कार्की , उपसचिव असारु राजवंशी, उपसचिव अनिता कन्दङवालगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले दुई वर्षअघि पनि भद्रपुरको गौरीशंकर टोलमा दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धालाई घर निर्माण गरिदिएको थियो ।