२०८३ बैशाख २५ गते , शुक्रबार

झापामा मोटरसाइकलको टुल बक्स र ट्याङ्कीभित्र ब्राउनसुगर ल्याउने दुई पक्राउ

sajilo news
झापा
२०८२ बैशाख ५ गते , शुक्रबार
झापामा मोटरसाइकलको टुल बक्स र ट्याङ्कीभित्र ब्राउनसुगर ल्याउने दुई पक्राउ

झापामा ७६ ग्राम लागू औषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । एक जना मेचीनगरमा र एक जना कचनकवलमा पक्राउ परेका हुन् । आज दिउँसो ३:४० बजे मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले शिकारी कुकुरको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४६३ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा पाँचथर कुम्मायक गाउँपालिका–३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्काले मोटरसाइकलको ट्याङ्कीमा लुकाइछिपाई ल्याएको २७ ग्राम १३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागू औषध, मोटरसाइकल र खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ । त्यस्तै  कचनकवल गाउँपालिका-६ बनियानी चोकमा ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगरसहित कचनकवल–५ बस्ने २८ वर्षीय कासिम मिया पक्राउ परेका छन् । आज बिहान १०ः४५ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकल चालक मियालाई शङ्का लागेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा मोटरसाइकलको टुल बक्सभित्र लुकाइछिपाई ल्याएको प्लास्टिकसहित ४९ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । मियालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार