हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बईको आइपीएलमा तेस्रो जित
सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा तेस्रो जित निकालेको छ। तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायम छ। ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ। ४ अंकको हैदरावादको पनि सम्भावना जिवितैछ। तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नुपर्नेछ। शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ।
मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो। जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो।
मुम्बईको जितमा विल ज्याक्सले ३६, रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ रनको योगदान गरे। हैदरावादको लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट हात पारे।
पहिलो इनिङ्समा हैदराबादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन बनाए। पहिलो विकेटका लागि अभिषेक र ट्रभिसले ५९ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि विल ज्याक्सले दुई तथा ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक विकेट लिए।