भाटभटेनीको अन्डरग्राउन्ड पार्किङबाट पल्सर मोटरसाइकल चोरी
झापाको बिर्तामोडस्थित भाटभटेनीको अन्डरग्राउन्ड पार्किङबाट पल्सर मोटरसाइकल चोरी भएको छ । गत चैत २५ गते किनमेलका लागि भाटभटेनी पुगेका अर्जुनधारा ६ का बबिन न्यौपानेको मोटरसाइकल चोरी भएको हो ।
किनमेलका लागि पुगेका न्यौपानेले ४ बजेर ७ मिनेटमा अन्डरग्राउन्ड पार्किङमा मोटरसाइकल राखेको जानकारी दिए । उनको मोटरसाइकल ४ः३२ बजे चोरी भएको सिसी क्यामेराको फुटेजमा देखिएको थियो । क्याप र मास्क लगाएको मान्छेले मोटरसाइकल लैजाँदै गरेको देखिन्छ, न्यौपाने भन्छन्– बाहिरबाट चोरी भएको भए अचम्म हुँदैन थियो । तर, अन्डरग्राउन्ड पार्किङबाटै चोरी हुनुले अचम्मित बनाएको छ ।
अण्डरग्राउण्डबाटै चोरी भएपछि न्यौपानेले भाटभटेनी नै जिम्मेवार हुनुपर्ने बताउँछन् । भाटभटेनी पक्षले त्यस विषयमा प्रहरीमा जानु भनेर जबाफदेही बन्न नखोजेको दुखेको पोखेका छन् ।न्यौपानेको प्रदेश १–०१ ०१४प ७१५७ नम्बरको २२० सिसीको मोटरसाइकल चोरी भएको हो । उनले इलाका प्रहरी कार्यालय अनारमनिमा खोजी कार्यका लागि उजुरी दिएका छन् ।
बिर्तामोड भोटभटेनीको स्टोर म्यानेजर लक्ष्मी गुरुङले चोरीको भएको खण्डमा जिम्मा लिन नसकिने बताइन् । उनले पार्किङका लागि ठाउँ उपलब्ध गराइएको हो, आफ्नो साधनको सुरक्षा आफै गर्नुपर्ने सूचना नै राखिएको जानकारी दिइन् । हाम्रो ग्राहकको सवारी सुरक्षाप्रति सचेत छौँ, उनले भनिन् – चोरी भएको खण्डमा सवारीको जिम्मा लिन सक्दैनौँ । आवश्यक फुटेज, सूचना र समन्वयमा भने सहयोग गरिने छ । पीडित पक्षका लागि प्रहरीलाई आवश्यक समन्वय गर्न सहयोग गर्ने गरिएको उनको भनाई छ ।