भेटियो इलाममा नयाँ प्रजातिको चरा
इलामको सुखानी वन क्षेत्रमा बैजनी रङ्गको कोइली चरा फेला परेको छ । यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्या ८९९ पुगेको छ ।
नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार नेपालका चराविद् राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान सो भाले चरा देखेका थिए । उनीसँगै रहेका दुई जना मलेसियन नागरिक र नेपाली चराविद् अनीश तिम्सिनाले पनि चरा अवलोकन गरेका थिए ।
उनीहरूले करिब २० मिटरको दुरीबाट सो चराको फोटो र भिडियो खिचेर २८ चैतमा थप पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौँमा पठाएका थिए ।
प्राप्त विवरणहरूको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुसँगको राय सुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीले बताए ।
नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, आलोस, मलेसिया, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा पाइन्छ । यसले भुटान, फिलिपिन्स र सिंगापुरमा प्रजनन गर्छ । विश्वमा यस चराका दुई उपप्रजाति अभिलेख भएका छन् ।