२०८२ बैशाख १३ गते , शनिबार
झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-८ निवासी ६० वर्षीय पुष्प दास दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी-८ बुद्धचौकमा डुँडामारी चोकबाट झिलझिलेतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदल यात्री दर्जीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिले लगिएकोमा थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको सोही अस्पतालमा आज साँझ साढे ६ बजे उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले मोटरसाइकल चालक शिवसताक्षी-८ निवासी ३० वर्षीय दुरेन शेर्मा लिम्बूलाई नियन्त्रणमा लिएको छ ।