पश्चिमी वायुको प्रभाव : कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने
काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसैगरी बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत नेपालमा प्रभाव रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
आज बिहान जारी बुलेटिनमा देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
राती पनि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।