२०८३ असार ३ गते , बुधबार

मेचीनगरको पूजा फुड प्रोडक्सनमा ताला, सिंगापुर वेवरेजको उत्पादन सन्तोषजनक ?

sajilo news
झापा
२०८१ चैत्र २७ गते , बुधबार
मेचीनगरको पूजा फुड प्रोडक्सनमा ताला, सिंगापुर वेवरेजको उत्पादन सन्तोषजनक ?

मेचीनगर । मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी टोलीको सहकार्यमा बजार अनुगमन गर्दा म्याद नाघेको भेटिएपछि एउटा उद्योगमा ताला लगाइएको छ ।

बुधबार नगरपालिकाको नेतृत्वमा गएको जिल्लाको सरकारी बजार अनुगमन टोलीले मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगमा ताला लगाएको हो । नगरपालिकाका खाद्य निरीक्षक दीपेन्द्र कार्कीले अनुमति नलिई उद्योग सञ्चालन गरिएको, पास्ता, सुजी उत्पादन गर्दा म्याद नाघेको मैदा प्रयोग गरिएको, ढक, तराजु ठिक नभएको, सरसफाइमा ध्यान नदिएको, भण्डारण र सुरक्षित राख्न ध्यान नदिएकोले उद्योगमा ताला लगाइएको जानकारी दिए ।

उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई तीन दिनभित्र नगरपालिका कार्यालय आउन निर्देशन दिएको उनले बताए । उनका अनुसार उद्योगमा उत्पादन गरिएका पास्ता र सुजीमा कैफियत भेटिएपछि ताला लगाइएको छ ।
यस्तै अनुगमन टोलीले मेचीनगर–१० स्थित नन्दा फुड ईन्डरष्ट्रिजका सञ्चालकहरू भूमि पौडेल, अजय घिमिरे, कमल पौडेल र कमल थापालाई उद्योगमा सरसफाइमा ध्यान नदिएको पाइएकोले सात दिनभित्र कार्यालय आउन निर्देशन दिएको कार्कीले बताए ।

सरकारी निकायले तीन वटा खाद्य उद्योगमा अनुगमन गरिएको थियो । जसमा मेचीनगर–१४ स्थित सिंगापुर वेवरेज ईन्डरष्ट्रिजमा अनुगमन गर्दा सन्तोषजनक पाइएको उनको भनाई छ ।

सिंगापुर वेवरेज उद्योगमा स्थलगत अनुगमन र डकुमेन्टहरू हेर्दा सन्तोषजनक पाइएको खाद्य निरीक्षक कार्कीले बताए । बजार अनुगमन टोलीमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, खाद्य निरीक्षक दीपेन्द्र कार्की, राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक सङ्गीता साह, जिल्ला प्रशासन कार्यालय झापा नायव सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नाप तौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, इलाका प्रहरी कार्यालय धुलाबारीका सई विष्णु दाहाल, मेची उद्योग वाणिज्य संघका सदस्य विष्णु बुढाथोकी, नगर प्रहरीहरू प्रकाश बानियाँ, अर्जुन प्रसाईँ लगायतको उपस्थिति रहेको थियो ।

बजार अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले बजार अनुगमन कडाइका साथ कार्यान्वयनमा लाने बताइन् । अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद नाघेका र उत्पादन मिति नभएका सामानहरू जफत, नष्ट, सञ्चालकलाई जरिवाना र कारबाही समेत हुने उनको भनाई छ ।

सम्बन्धित समाचार