'सिकन्दर' नचल्दा सलमान खान निराश

मुम्बई । बलिउड अभिनेता सलमान खानको महत्वाकांक्षी चलचित्र सिकन्दरको व्यापार पहिलो सात भारतमा १०० करोड पनि हुन सकेन । जबकि यो चलचित्रले पहिलो ७ दिनमा १४० करोडको व्यापार गर्ने प्रक्षेपण गरिएको थियो ।
यो चलचित्रले सातौँ दिन शनिवार भारतमा जम्मा ३.७५ करोड रुपैयाँ मात्र व्यापार गरेको छ । पहिलो दिन २६ करोड र दोस्रो दिन २९ करोडको व्यापार भारतमा गरेको यो चलचित्रले छैटौँ दिन शुक्रवार ३.५ करोड रुपैयाँको मात्र व्यापार गरेको थियो । यसरी यो चलचित्रको रिलिज भएको सात दिनमा भारतमा जम्मा ९३.७५ करोडको मात्र व्यापार गरेको छ । यो सँगै सिकन्दर असफलको सूचीमा परेको छ ।
चलचित्रको खस्कँदो व्यापारका कारण यसका अभिनेता निर्माता सलमान खान निराश छन् । चलचित्रको भारतमा कम्तीमा २०० करोडको व्यापार गर्ने विश्वास उनको थियो । यो चलचित्र २०० करोडको लागतमा बनेको हो । यसको खस्कँदो व्यापारसँगै चलचित्र सिकन्दर घाटामा जाने अवस्था आएको वितरकहरूको कथन छ ।
सिकन्दरको पहिलो र दोस्रो दिनको व्यापार हेर्दा यसले बक्स अफिसमा राम्रो छाप छाड्ने विश्वास गरिएको थियो । यो वर्षको सफल चलचित्रहरू छावा र पुष्पा २ सँग सिकन्दरलाई व्यापारिक रूपमा दाँज्न थालिएको थियो । तर त्यसो भएन । दक्षिण भारतीय पुष्पा २ को हिन्दी संस्करणले मात्रै सात दिनमा भारतमा ४३५.१ करोड रुपैयाँको शानदार कमाई गरेको थियो भने हिन्दी चलचित्र छावाले पहिलो हप्ता भारतमा २१९.२५ करोड रुपैयाँको व्यापार गरेको थियो । तर सिकन्दरले पहिलो साता भारतमा १०० करोड रुपैयाँको व्यापार पनि गर्न सकेन ।