२०८३ असार ४ गते , विहीबार

रवि लामिछाने भैरहवामा, दुई दिन प्रहरी हिरासतमा बस्ने

sajilo news
झापा
२०८१ चैत्र २३ गते , शनिबार
रवि लामिछाने भैरहवामा, दुई दिन प्रहरी हिरासतमा बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। उनलाई यति एयरलाइन्सको विमानमार्फत भैरहवा ल्याइएको हो। अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक बिदापश्चात सोमबार लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। उनका अनुसार आज र भोलि सार्वजनिक बिदा रहेकोले त्यस अवधिसम्म उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ।

शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो।

गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु र लामिछाने धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

जसको शुक्रबार न्यायाधीश शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको इजलास सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। 

सम्बन्धित समाचार