अग्रसेन भवनको रजत उत्सव : माथिल्लो तला उद्घाटन, दिव्य श्री राम कथा सुरु
रोहित काफ्ले । झापाको बिर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन रजत महोत्सवको अवसर पारेर अग्रसेन भवनको नवनिर्मित माथिल्लो तला उद्घाटन गरेको छ । भवनले आज भव्य समारोहका बीच माथिल्लो तलामा नवनिर्मित माधवी व्बेङक्वेट हल र अयोध्यापुरी कक्षको उद्घाटन गरेको हो ।
माथिल्लो तलामै आयोजित समारोहका प्रमुख अतिथि भवनका सल्लाहकार, समाजसेवी, गौसेवक जगदीशकुमार मिण्डा, समाजसेवी छविलदास वंशल, प्रख्यात राम कथा वाचक हरिद्वार निवासी नवराज प्रपन्नजी महाराज, समाजसेवी धवानीशंकर मिण्डा, नेपालले राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भिखमचन्द सरल, महासचिव चतुर्भुज सरियालगायतले संयुक्त रुपमा रिबन काटेर र शिलालेख अनावरण गरेर नवनिर्मित हल र कक्षको उद्घाटन गरेका थिए ।
सो अवसरमा भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले माथिल्लो तला निर्माणका सम्बन्धमा जानकारी गराउँदै सभा हल र कक्षहरू वातानुकूलित र सुविधा सम्पन्न ढंगले निर्माण गरिएको जानकारी दिए । उनले संरचना निमाृणका लागि समुदायले मन खोलेर सहयोग गरेका भन्दै सहयोगदाताहरूलाई धन्यवाद दिए ।
भवनका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले सञ्चालन र बालिका दृष्टि मित्तलद्वार स्वागत नृत्यबाट स्वागत गरिएको सो समारोहको अवसरमा अग्रसेन भवनको स्थापना तथा निर्माणमा विशेष योगदान पुर्याएकोमा भवनका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष सुरेशकुमार वंशल, दिनेशकुमार मित्तल, बाबुलाल वंशल, मोहनकुमार मित्तल, शिवकुमार अग्रवाल र हनुमानप्रसाद मित्तललाई सम्मान गरिएको थियो भने स्थापनाकालदेखि नै भवनको निर्माण र विभिन्न रचनात्मक भूमिका निर्वाह गर्दै आएका वर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’लाई पूर्व अध्यक्षहरूको तर्फबाट विशेष सम्मान गरिएको थियो । सम्मानितहरूलाई समारोहका प्रमुख अतिथि मिण्डाले दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए । यसैगरी, सोही समारोहमा अग्रसेन भवनले तयार पारेको रजत वर्ष स्मारिका पनि विमोचन गरिएको थियो ।
यस्तै, भवनकै आयोजनामा सञ्चालन हुने नौ दिवसीय दिव्य श्री राम कथाको पनि आजै शुभारम्भ गरिएको अध्यक्ष भद्रपुरेले जानकारी दिए । २९ गतेसम्म सञ्चालन हुने राम कथा हरिद्वारा भारतका प्रसिद्ध कथा वाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने रजत उत्सव प्रचार प्रसार समितिका संयोजक सन्तोष अग्रवालले जानकारी दिए । राम कथा तथा रजत उत्सवकै अवसर पारेर रक्तदान, २६ जनालाई कृत्रिम खुट्टा वितरण र औषधिरहित जीवन जिउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग शिविर आयोजना गरिएको उनले बताए ।
राम कथाको सन्दर्भमा आज बिहान बिर्तामोडमा विभिन्न झाँकीसहित मानसग्रन्थ एवम् कलश शोभायात्रा आयोजना गरिएको थियो । अग्रसेन भवनको रजत उत्सव तथा राम कथालाई सफल बनाउन मारवाडी समुदायका विभिन्न संघ–संस्थाले सहयोगी भूमिका निर्वाह गरेको बताइएको छ ।