काठमाडौँमा उच्च वायु प्रदूषण, स्वास्थ्यका लागि हानिकारक
काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण उच्च रहेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौँ उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौँ उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) ३७५ रहेको छ । जसलाई खतरनाक अवस्था मानिन्छ । विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको इराकको बग्दादमा एक्यूआई ६४७ रहेको छ । नेपालपछि रहेको दिल्लीको एक्यूआई १९९ छ ।
प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ।
२०१ देखि ३०० सम्मको वायुलाई अति अस्वस्थ वायु भनेर बुझिन्छ। ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ।