रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव
(नमीन ढकाल) फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रवर्द्धनका लागि इलामको सन्दकपुरमा दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरू माझ रेडपान्डाको महत्त्व र अध्ययन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म सञ्चालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम् सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (वन्दना) ले उद्घाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए ।
उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ । ‘ सन्दकपुर गाउँपालिकाको माइपोखरी विश्व सम्पदा सुचीमा सूचीकृत क्षेत्र हो । यसको संरक्षणमा सबै नागरिक र ३ तहको सरकारको दायित्व हो । ३ तह सरकार मिलेर काम गर्न लागेका छौ ।’ उनले भने ‘पर्यटकीय र जैविक विविधता र औषधीका वनस्पति पाइने क्षेत्र सन्दकपुरमा कृषिबाट समृद्धिमा पुग्ने निष्कर्ष रहेको छ ।’ उनले विश्वकै दुर्लभ वन्यजन्तुको बासस्थान रहेको ठाउँ भएकाले जिल्लाका लेकाली क्षेत्र निकै संवेदनशील र आकर्षक पर्यटकीयस्थल भएको बताए । उनले सन्दकपुरको जैविक विविधता, परम्परागत संस्कृति र अर्ग्यानिक उत्पादन धेरै पर्यटकका लागि आकर्षण रहेको पनि बताए । ‘यहाँ उचित पदमार्ग निर्माण गरी देश–विदेशका पर्यटकलाई लोभ्याउन सकिने ठाउँ छन्,’ उनले भने, ‘तर, जैविक विविधतालाई असर नहुने गरी पूर्वाधार तयार गर्नुपर्छ ।’
कोशी प्रदेशसभा सदस्य खगेश्वरी पौडेल अधिकारीले इलामका पर्यटकीय क्षेत्रमध्ये सन्दकपुर गाउँपालिका जैविक विविधतामा धनी रहेको बताइन् । उनले इलाममा पर्यटक आकर्षित गर्न सबैले सहकार्य गर्नुपर्ने बताइन् । उनले आफू कोशी प्रदेशको सांसद निर्वाचित भएपछिबाट नै सहयोग गरेको बताउँदै पटक पटक अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग सन्दकपुरको विकास बारे चासो राखेको बताइन् । उनले प्रदेश विकास निर्माणको योजना बैङ्कमा सन्दकपुरको बारेमा विभिन्न योजनाहरू समावेश गर्न पहल गरेको बताइन् । उनले पाटी नभनि हराभरा बनाएर कसरी हुन्छ बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्न जरुरी देखिएको बताइन् । सन्दकपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष उदय बहादुर राईले आफ्नो कार्यकालमा अघि बढाइने त्रिधार्मिक पार्कको कार्यलाई निरन्तरता दिन सुझाव दिए । उनले इलाम बजारलाई खानेपानी उपलब्ध गराए बापत बनाइदिने भनिएको त्रिधार्मिक पार्कको कार्यलाई समन्वय र सहकार्य गरेर निर्माण गर्दै पर्यटकहरूलाई आकर्षणको केन्द्र बनाउन सुझाव दिए ।
माइपोखर नजिकै रहेको जोरपोखरीको विस्तारको कार्य आफू पालिका अध्यक्ष हुँदा सुरु भएको बताउँदै रेडपान्डा पदमार्ग नमुनबाट माइपोखरी–छिन्तापु हुँदै धापपोखरीसम्म ४३.७ किलोमिटर २०७६ सालबाट सुरु भएको बताए । केचना कञ्चनजङ्घा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्योरालीले सन्दकपुर पर्यटनको अथक सम्भावना भएको क्षेत्र भएपनि रेडपान्डाको माध्यमबाट बढी प्रवर्द्धन गर्न सकिने बताए । उनले लोपोन्मुख प्रजाति रेडपान्डा हतपत नभेटिने बताउँदै पर्यटकहरूलाई पटक पटक आउनका निम्ति विभिन्न योजनाहरू बनाएर अघि बढेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा रेडपान्डालाई ब्रान्डिङ गर्ने चाहना रहेको बताए । रेडपान्डा संरक्षण सम्बन्धी कार्य गर्दै आएको दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले मानवीय विकासका कारण रेडपान्डाको बासस्थान जोखिममा परेको चिन्ता व्यक्त गरे । उनले पैदल मार्ग बनाउँदै गर्दा बासस्थान संरक्षणको चुनौतीलाई ध्यानमा राखेर कार्य गर्न सुझाव दिए ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पर्यटन विकासका लागि तीनै तहको सरकारको समन्वय आवश्यक रहेको बताए । उनले सबै पालिकासँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । महोत्सव उद्घाटन अवसरमा रेडपान्डा पदमार्गसमेत उद्घाटन गरिएको छ । साथै गाउँपालिकाको वार्षिक पर्यटन पात्रो विमोचन गरिएको छ । पर्यटन पात्रोमा हरेक वर्ष चैत्र २० गतेबाट रेडपान्डा महोत्सव आयोजना गर्ने तय गरिएको छ । महोत्सवको अवसरमा माइपोखरीबाट जौबारी सम्म पदयात्रा समेत सुरु गरिएको छ । चैत्र २३ गतेसम्म नेपाल र भारतका पदयात्रीहरूले रेडपान्ड पाइने क्षेत्रको अध्ययन र अवलोकन गर्नेछन् । उद्घाटन कार्यक्रममा स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङगेलीले रेडपान्डा पदमार्ग नेपालमै पहिलो सन्दकपुरमा रहेको बताए ।
उनले दोस्रो पटकको आयोजनाबाट परिणाममुखी नतिजा देखिने सम्भावना रहेको बताए । रेडपान्डा पदमार्गमा माइपोखरी, जिल्लाकै अग्लो पर्यटकीयस्थल सन्दकपुर, छिन्टापु, गोरुवाले, रेडपान्डा पाइने क्षेत्र चोयाटार वन लगायत दर्जनौँ महत्त्वपूर्ण पर्यटकीयस्थल छन् । कार्यक्रममा कोशी प्रदेशकी पूर्व पर्यटनमन्त्री एवम् इलाम क्षेत्र नं १ (क) की सांसद खिनु लङ्वा लिम्बुको समेत सहभागिता रहेको थियो । ११ करोड भन्दा बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौँ प्रजातिका चाराको अध्ययन गर्न पाइन्छ । १५ पर्यटकीय गन्तव्य जोड्ने पदमार्गको प्रवर्द्धन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गत वर्षबाट सुरु भएको हो । महोत्सवमा आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराहरू, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु पदयात्राका क्रममा अध्ययन गर्न पाइन्छ ।