पत्रकारको सुरक्षा प्रशासनले गर्छ : प्रजिअ अधिकारी
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पत्रकारहरूको सुरक्षा प्रशासनले गर्ने बताएका छन्। पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए खबर गर्न उनले बताए ।
राजावादी समर्थकहरूको तीनकुनेमा प्रदर्शनको क्रममा जलाएर हत्या गरिएका पत्रकारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज ज्ञापनपत्र बुझाउने क्रममा प्रजिअ अधिकारीले यस्तो बताए ।
घटनाका बारेमा गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन नेपाल पत्रकार महासंघ झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष एकराज गिरीले ज्ञापनपत्र पढेर प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझाउन पत्रकार महासंघको कार्यसमिति, पूर्व अध्यक्षहरू, संघ संगठनको नेतृत्व, प्रेस क्लबका अध्यक्ष तथा प्रतिनिधिहरू, झापाली पत्रकारहरूको उपस्थिति रहेको थियो । दमकमा पनि इलाका प्रशासन कार्यालयमा महासंघका प्रतिनिधिहरूको नेतृत्वमा ज्ञापन पत्र बुझाएको थियो ।