‘पत्रकार हत्या र सञ्चारमाध्याममाथि भएको ज्यादतीका’ विरुद्ध विरोध सभा
नेपाल पत्रकार महासंघले आज आफ्नो ७० औं स्थापना दिवस मनाउँदैछ। बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवस मनाउन पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए।
विकसित घटनाक्रमका कारण स्थापना दिवसलाई पत्रकार हत्या र सञ्चारगृह तथा संचारकर्मीमाथिको हमालविरुद्ध आन्दोलनका पमा शोक र विरोधसभा गरी मनाउन लागिएको महासंघले जनाएको छ। राजावादीको आन्दोलन हिंसात्मक बन्दा हिजो तीनकुनेमा पत्रकार सुरेश रजकले ज्यान गुमाए भने केही सञ्चारगृह र सञ्चारकर्मीमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका थिए। त्यसविरुद्ध महासंघको केन्द्रीय समितिले काठमाडौंको माइतीघरमा बिहान विरोधसभा गरेको छ।
विभिन्न जिल्ला र प्रदेश समितिले पनि आफूअनुकुल ‘पत्रकार हत्या र सञ्चारमाध्याममाथि भएको ज्यादतीका’ विरुद्ध विरोध सभा गर्ने महासंघले जनाएको छ। २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ गते संघलाई महासंघमा रूपान्तरण गरिएको थियो। संघ स्थापना भएको दिनलाई नै आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ।