२०८२ बैशाख १३ गते , शनिबार

झापामा कुलमान बर्खास्तीविरुद्ध आन्दोलन चर्किँदै

sajilo news
झापा
२०८१ चैत्र १३ गते , बुधबार
झापामा कुलमान बर्खास्तीविरुद्ध आन्दोलन चर्किँदै

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयलाई लिएर झापामा आन्दोलन चर्किँदै गएको छ ।

हिजोबाट शुरु भएको आन्दोलनले अझ व्यापकता पाउँदै गएको हो । प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनलाई तीव्रता दिएका छन् । यसक्रममा रास्वपाले बिर्तामोडमा प्रदर्शन गरेको छ । रास्वपा झापाको आयोजनामा बिर्तामोड– १ पश्चिम बस स्ट्यान्डस्थित नगर पार्टी कार्यालय अगाडिबाट शुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । जिल्ला उपसभापति प्रकाश पाठकको नेतृत्वमा विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर ‘भ्रष्ट सरकार राजीनामा दे, लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, मन्त्रिपरिषद्को निरङ्कुश र भ्रष्ट निर्णय खारेज गर, हामी कुलमानसँग छौँ ’ जस्ता नारा लगाउँदै विरोध र्‍याली मुक्ति चोकमा समापन भएको थियो ।

त्यस्तै रास्वपा गौरादह नगर समितिले टर्चलाइट बालेर विरोध गरेको छ । रास्वपाका गौरादह नगर सभापति जगत् तिवारीको नेतृत्वमा नाराबाजी गर्दै हात–हातमा टर्चलाईट बालेर र्‍यालीका सहभागीहरूले गौरादह बजार परिक्रमा गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रले बुद्धशान्तिमा राँके जुलुस निकालेको छ । आज साँझ बुद्धशान्ति –३ बुधबारेस्थित पहाडी चोकबाट माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) बुद्धशान्ति गाउँ कमिटीको आयोजनामा जुलुस निकालिएको हो ।

बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष पंकज शेर्पाको नेतृत्वमा माओवादी केन्द्र बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम नेम्बाङलगायतको सहभागितामा ‘भ्रष्ट सरकार चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । सहभागीहरूले बुधबारे चोकमा आई प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै कोणसभा गरेका थिए । त्यस्तै गौरीगञ्जको स्वतन्त्र युवा समूहको आयोजनामा मैनबत्ती जुलुस निकालिएको छ । कुलमान घिसिङको समर्थनमा हातमा नेपालको राष्ट्रिय झन्डा र मैनबत्ती बोकेका युवाहरूले विभिन्न नारा लगाउँदै गौरीगञ्ज चोक बजार परिक्रमा गरेका थिए ।

सम्बन्धित समाचार