बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा घाइते अर्का चालकको पनि मृत्यु

बिर्तामोडको सञ्जीवनी अस्पताल अगाडि गत भदौमा दुई वटा मोटरसाइकल जुध्दा त्यति बेला एकजना चालकको ज्यान गएकोमा अर्का घाइते चालकको पनि मृत्यु भएको छ ।
घाइतेको करिब ६ महिनापछि मृत्यु भएको हो । गत भदौ १३ गते राति १२ः४० बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५ प. ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नं.को अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मे ५ प ५५६८ नं.मोटरसाइकलका चालक कनकाई –५ बस्ने २६ वर्षीय सागर घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
अर्का प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकलका चालक भद्रपुर –१० बस्ने २९ वर्षीय सरोज बस्नेत घाइते भएका थिए । टाउको र हात खुट्टामा चोट लागेर गम्भीर घाइते बस्नेतलाई विभिन्न अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआई अचेत अवस्थामा रहेकोमा हिजो बिहान उनको घरमै मृत्यु भएको हो । कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।