बुद्धशान्ति प्रेस क्लबको साधारण सभा सम्पन्न
बुद्धशान्ति । बुद्धशान्तिका पत्रकारहरूको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले आफ्नो चौथो वार्षिक साधारण सभा एवम् स्थापना दिवस भव्य रुपमा मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा साधारण सभा एवम् स्थापना दिवस मनाइएको हो ।
सभाको उद्घाटन पश्चात् बोल्दै प्रमुख अतिथि गिरीले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा दिनानुदिन चुनौतीहरू थपिँदै गएकाले सञ्चारकर्मीहरूले ती चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह समेत गरेका थिए । उनले आउँदो दिनमा महासंघले स्थानीय प्रेस क्लबहरूसँग सहकार्य गरेर आवश्यकता अनुसारको तालिम समेत आयोजना गर्ने बताएका छन् ।
सभामा संस्थाका संस्थापक अध्यक्ष एवम् बुद्धशान्ति १ का वडा अध्यक्ष अनिल वाग्लेले आफू पनि पहिले सञ्चारकर्मी भएकाले सञ्चारकर्मीको समस्याबारे राम्ररी बुझेकाले आगामी दिनमा वडाबाट पनि पत्रकारका लागि व्यक्तिगत विकास साथै तालिम र संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता दिएका थिए । उनले प्रेस क्लबको अक्षयकोष स्थापनार्थ वडा कार्यालयबाट ११ हजार एक सय एघार रुपैयाँ कोष खडा गर्न सहयोग गर्ने उद्घोष गरेका छन् ।
विशिष्ट अतिथि रहेका वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायले संस्था स्थापना दिवसको शुभकामना दिँदै उनले हालसम्म पनि स्थानीय सञ्चारकर्मीसँग सहकार्य गरेरै वडाले कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि आवश्यक बजेट विनियोजन गरेरै सहकार्य गर्ने बताए । उनले पत्रकारले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै देखिने गरी निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरे ।
स्थापना दिवसकै अवसर पारेर विगत तीन दशक देखि पत्रपत्रिका वितरण सँगै विभिन्न पत्रपत्रिकामा सम्वाददाताका रुपमा काम गर्दै आएका बुधबारे निवासी हरि घिमिरेलाई सम्मान समेत गरिएको थियो । उनलाई प्रमुख अतिथि गिरी, सभापति तिम्सिना लगायतका अतिथिहरूले सम्मान पत्र साथै अबिर, खदाले सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष तिम्सिनाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष भित्रमा बुद्धशान्तिका सबै पत्रकारहरूको दुर्घटना बिमा गर्ने, अक्षयकोष खडा गर्ने, कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी वार्षिक रुपमा पत्रकारिता पुरस्कार प्रदान गर्ने साथै पत्रकारहरूलाई क्षमता अभिवृद्धि गराउने किसिमका विभिन्न तालिम, उद्घोषण, व्यक्तित्व विकास तालिम जस्ता कार्यक्रम गर्ने बताए । त्यस्तै संस्थाकी कोषाध्यक्ष भारती राईले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को साङ्गठनिक आयव्यय प्रस्तुत गरेकी थिइन् ।
संस्थाका सचिव रोशन भट्टराईले सञ्चालन गरेको सभामा उपाध्यक्ष नारायण अर्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटेल एन्ड लजमा भएको थियो । २०७६ सालमा स्थापना भएको क्लबमा स्थापना हुँदा १६ जना सदस्य रहेका थिए भने हाल २३ जना सदस्य रहेका छन् । जसमध्ये ४ जना वैदेशिक रोजगारीमा गएका छन् ।