२०८३ असार ४ गते , विहीबार

झापाको मायालु, रमा र ज्यामिरे जंगलमा डढेलो

sajilo news
झापा
२०८१ चैत्र ४ गते , सोमबार
झापाको मायालु, रमा र ज्यामिरे जंगलमा डढेलो

झापाको तीन वटा जंगलमा डढेलो लागेको छ । तीव्र गतिको हावाहुरीका कारण डढेलोले ठुलो क्षेत्रफलको वनमा क्षति पुगेको छ । आज दिउँसो भद्रपुर-४ स्थित मायालु सामुदायिक वनमा लागेको आगलागीबाट करिब ५० विगाह वन क्षेत्रमा क्षति पुगेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोली , भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै दमक-१० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ । तीव्र गतिको हावाहुरीका कारण आगो फैलिँदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसबाट अन्दाजी २५ हजार बराबरको क्षति भएको डीएसपी खगेन्द्र खड्काले बताए ।

त्यस्तै बुद्धशान्ति गाउँपालिका-६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको छ । आज साँझ लागेको आगलागीबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले जानकारी दिए ।

सम्बन्धित समाचार