२०८३ असार ४ गते , विहीबार
झापामा हावाहुरीका कारण यतिको विमान आकाशमै होल्ड, अवतरण गर्न नसक्दा यात्रुहरूमा रुवाबासी
तीब्र गतिमा चलेको हावाहुरीका कारण भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरण गर्न नसकेपछि यात्रुहरूमा रुवाबासी चलेको छ ।
काठमाडौंबाट दिउँसो २ बजेको समय तालिका रहेको यति एयरलाइन्सको एटीआर विमान ढिलो गरी उडान भर्दै दिउँसो ४।२० बजेतिर चन्द्रगढी विमानस्थलमा आइपुगेको थियो । चर्को हावाहुण्डरीका कारण पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि सो विमानले करिब १० मिनेटसम्म आकाशमै होल्ड गरेको थियो । त्यसपछि दोस्रो प्रयासमा मात्र विमानले सकुशल अवतरण गर्न सकेको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए ।
हावाहुरीले हल्लाएर विमानले विमानस्थलमा अवतरण गर्न नसकेर आकाशमै फन्को मारिरहँदा यात्रुहरू त्रसित भएका थिए । दोस्रो प्रयासमा बल्ल विमानले अवतरण गर्न सकेपछि यात्रुहरू रुँदै विमानबाट बाहिर निस्केको विमानस्थलका एक कर्मचारीले बताए ।