तेह्रथुम र ताप्लेजुङमा आगलागी, लाखौँको क्षति
तेह्रथुम र ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज बिहान १०.३० बजे तेह्रथुमको लालीगुराँस नगरपालिका-७ फिर्के बस्ने लोकबहादुर श्रेष्ठको गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको हो । चित्राको छाना ,बाँसको बारले बनेको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।
गोठमा रहेका एउटा गाई र एउटा बाछी मरेका छन् भने दुईवटा गाई घाइते भएका छन् । बिहान ११.२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको आगलागीबाट ४ लाख ७५ हजार बराबरको क्षति भएको छ ।
यता गएराति करिब ११:३० बजे ताप्लेजुङ फुङलिङ– ३ साउनेपानी बस्ने प्रेमप्रसाद निरौलाको घरमा आगलागी भएको छ । ढुङ्गा र माटोले बनेको ,टिनको छानो भएको तीनतले कच्ची घरमा बिद्युत् सर्ट भई अचानक आगलागी भएको हो ।
आगलागीबाट २ वटा बाख्राको पाठा जलेर मरेका छन् । घरमा भएको चिरान काठ, अन्नपात, भाडाबर्तन गरी करिब रु. ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो स्थानीय र फुङलिङ नगरपालिकाको दमकलको सहयोगमा राति १२ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।