२०८२ बैशाख १६ गते , मंगलबार

यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमण, ५३ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ चैत्र ४ गते , सोमबार
यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमण, ५३ जनाको मृत्यु

साना  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्। 

गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन्। 

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएको उल्लेख गरिएको छ। 

ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएका छन्। 

हुथी विद्रोहीले आक्रमणलाई ‘बिना कुनै प्रतिक्रिया नछोडिने’ चेतावनी दिएको छ भने इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङ्टनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने ‘कुनै अधिकार’ नभएको बताएका छन्। 

हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङ्टनको ‘आपराधिक क्रूरता’ को निन्दा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले लडाकुको तस्बिर र वमको विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गर्दै ‘अमेरिकी हितको रक्षा गर्न, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रता लाई पुनस्र्थापित गर्न’ ‘सटिक आक्रमण’ गरिएको बताएको छ।

सम्बन्धित समाचार