२०८३ असार ४ गते , विहीबार

झापामा वन डढेलो नियन्त्रण सचेतना अभियान सुरु

sajilo news
झापा
२०८१ चैत्र ३ गते , आईतबार
झापामा वन डढेलो नियन्त्रण सचेतना अभियान सुरु

झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना तथा सब डिभिजन वन कार्यालय धाइजनको समन्वयमा आइतबारबाट साता व्यापी कार्यक्रम सुरु भएको हो ।

‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ,’ वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्डसहित मेचीनगरस्थित चारआलीमा रहेको प्रगति सामुदायिक वनबाट सुरु गरिएको सचेतना ¥यालीले चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

‘वन डढेलो नियन्त्रण गरौँ, वन जङ्गल जोगाऔँ, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित वन डढेलो नियन्त्रण अभियान सुरु भएको मेची सब डिभिजन वन कार्यालयका वन अधिकृत सुरज निरौलाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल तथा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले संयुक्त अभियानको उद्घाटन गरेका थिए ।

सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको सब डिभिजन वन कार्यालय धाइजनमा कार्यरत सहायक वन अधिकृत डिल्लीराम खरेलले जानकारी दिए ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने खरेलको भनाई छ ।

उनका अनुसार चैत्र ४ गते वन डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिम बुद्धशान्तिको आदर्श सामुदायिक वनमा चैत्र ५ गते कनकाई सब डिभिजन कार्यालय र जलथल सब डिभिजनमा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, ६ र ७ गते ज्वलनशील पदार्थ व्यवस्थापन तथा प्रागंरिक मल तयारी तालिम लगायतका कार्यक्रम तय गरिएको छ ।
समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया सहित विविध कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने जनाइएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देल, सामुदायिक वन मेचीनगर महासंघ अध्यक्ष जानुका ओली लगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक रहेको औँल्याएका थिए । सहायक वन अधिकृत डिल्लीराम खरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सब डिभिजन वन कार्यालय धाइजनका प्रमुख सुरज निरौलाले गरेका थिए ।

कार्यक्रममा जिल्लाका सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, वनका कर्मचारी, अरीदमन गण चारआलीका निमित्त गणपति सुरेन्द्र योगी , चारआली चौकीका सई प्रमोद रेग्मी, सब डिभिजन वन कार्यालय कनकाईका सुरेश खनाल, वनको आरआरटी टिम , चारआली जेसिज , अरीदमन गणका कर्मचारी लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार