२०८३ असार ४ गते , विहीबार
पिकअपको ठक्करबाट शिवसताक्षीका १२ वर्षीया आदर्शको मृत्यु
झापामा दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–९ का फणीन्द्र खनालका १२ वर्षीय छोरा आदर्श खनालको आइतबार दिउँसो २ बजे उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
होलीका दिन चैत १ गते साँझ ५ बजे शिवसताक्षी नगरपालिका ११ दुधे चौकनजिक भित्री सडक खण्डमा दूधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री आदर्शलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते आदर्शलाई अस्पताल लगिएको थियो भने दुर्घटनापछि पिकअप चालक फरार भएका थिए । फरार रहेका पिकअप चालक शिवसताक्षी ११ बस्ने २७ वर्षीय सागर भनिने सिटूँ पोद्धारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।