२०८२ बैशाख ९ गते , मंगलबार
माई खोलामा बगाएर ल्याएको सखुवा काठ बरामद

झापाको दोमुखास्थित कनकाई माई खोलामा बगाएर ल्याएको काठ प्रहरीले बरामद गरेको छ । गएराति ११:३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर– १० दोमुखास्थित कनकाई माई खोलामा बगाउँदै ल्याएको अन्दाजी ६० किवि सखुवाको जातको काठ प्रहरीले बरामद गरेको हो ।
टिउमा बाँधेर काठ बगाएर ल्याउँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ काठ तस्करहरू काठ छाडेर फरार भएका थिए ।
अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको काठ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।