साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ। सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो।
गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उनको निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले जानकारी दिएका छन्। असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे।
माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भएको थियो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो।
उनले ‘अतृप्त’ , ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ लगायतका उपन्यास लेखेका छन्। उनले ‘लीलबहादुर कथाहरू’ र ‘छरिएको बिस्कुन’ लेखेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्याएका थिए। उनले सन् २०२० मा पद्मश्री पुरस्कार पाएका थिए।